प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव अघि बढ्ने

काडठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएर प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम गलत भएकोमा आत्मालोचना गर्ने हो भने नेकपा एक भएर अघि बढ्न सक्ने बताएका छन् ।

नेकपा पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीबाट राजिनामा र आत्मालोचना भएमा पार्टी एक भएर जानसक्ने तर ओलीले अहिलेसम्म राजिनामा दिनेबारे कुनै सुरसार नगरेकाले याे पार्टी  एकताकाे कुरा अर्काे भ्रम हुन सक्ने बताए ।

स्थायी समिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा नदिए संविधान अनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीको राजीनामा नआए संविधान अनुसारनै प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘सर्वोच्चको फैसलाले प्रतिनिधिसभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ । राजनीति अँध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ,’ श्रेष्ठले पत्रकारहरुसँग भने ।

बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संघर्षमा सक्रिया भएका सबै दल र आफ्ना कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ ।

नेकपामा अबको प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुनै निर्णय नभएको र कांग्रेस लगायत दलसँग यसबारेमा खुला छलफलमा रहेको उनको भनाइ छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा राख्दै अविश्वासको प्रस्ताव दर्ता भएको तर बदलिँदो राजनीतिक परिबेश अनुसार त्यो प्रस्ताव फिर्ता लिन वा त्यसबारेमा पुनर्विचार गर्न नेकपा तयार रहेको उनले बताए ।

स्थायी समिति बैठकले ओली पक्षमा रहेका नेता कार्यकर्तालाई फर्किएर आ आफ्नो जिम्मेवारी लिन आग्रह पनि गरेको उनले बताए । नेकपा प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठक पनि बुधबार बस्दैछ ।

प्रतिक्रिया