गन्तव्य तोकेर हिँडिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु गन्तव्य तोकेर हिँडिरहेको बताएका छन् । बुधबार माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफूहरु गन्तव्यबिहीन नभएको बताएका हुन् ।

सरकारले गरेको कामको बचाउ गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘हाम्रो सरकारको ध्यान कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनेमा रहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी यत्तिकै हिँड्दै जाऔँ भनेर होइन । गन्तव्य तोकेर हिँडिरहेका छौँ ।’

कुनै उत्पादन डोकोभर मात्रै गराएर कृषिमा परिवर्तन नआउने बताएका प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासको लागि लागिपर्नुपर्ने बताएका छन् । ‘उत्पादनको मात्रा बढाउनुर्छ । यतिकै कृषिमा परिवर्तन आउँदैन ।’

यसैबीच कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले माटोको डिजिटल नक्साले कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउने बताइन् । ‘माटोले के खोज्छ ? खेतबारीको माटोको स्थिति के हो ? त्यो पहिचान नगरी परम्परागत रूपमा खेती गर्दा कृषि उपजको उत्पादन ह्रास हुँदै आएको थियो,’ मन्त्री अर्यालले भनिन्, ‘अब आफ्नो करेसाबारीमा वा घरमै बसेर मेरो खेतबारीको अवस्था के छ ? उर्वराशक्तिको स्थिति के छ ? मोबाइलबाट थाहा पाउन सकिन्छ र यो कृषि क्षेत्रको लागि ठूलो क्रान्ति हो ।’

प्रतिक्रिया