संसद् अधिवेशन अगावै राजीनामा दिन प्रधानमन्त्रीमाथि दबाब

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार अबको १२ दिनपछि संसद् (प्रतिनिधि सभा)को बैठक बस्नुपर्दछ । जसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गर्नुपर्दछ । जुन विषयमा बुधबार मध्याह्न बसेको ओली समूहको स्थायी कमिटी बैठकले निर्धारित समयमा नै बैठक बोलाउने भनि निर्णय पनि गरिसकेको छ ।

यद्यपि, विपक्षी नेकपाका नेताहरुसँगै अन्य राजनीतिक दल तथा कानूनका जानकारहरुले भने ओलीले अधिवेशन अगावै राजीनामा दिनुपर्ने बताइरहेका छन् । तर, यो विषयमा भने बुधबारबारको बैठकमा मूलभुत रुपमा छलफल नभएको यो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीको राजीनामाबारे राखिएको जिज्ञासामा प्रवक्ता ज्ञवालीको जवाफ थियो–‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन् । तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन । विसं २०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ । त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौँ ।’

यता कुनै समूहमा नलागी तटस्थ बसेर नेकपालाई मिलाउन खोजिरहेका एकीकृत नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आह्वान गरेका छन् । उनले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् । यस्तै वरिष्ठनेताहरुले पनि प्रधानमन्त्रीले संसद् अधिवेशन अगावै राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

यसैगरी यता नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मालगायतको ‘लाइन’ पनि उही नै छ नेपाली कांग्रेस, साझा पार्टीलगायतका राजनीतिक दलहरुले पनि प्रधानमन्त्रीमाथि राजीनामा दिन दबाब दिइरहेका छन् । यद्यपि पनि यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् ।

प्रतिक्रिया