प्रधानमन्त्रीले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला

काठमाडौं । संसद पुनःस्थापनाको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै बदर गरेपछि डा. कोइरालाले त्यस्तो प्रतिक्रिया दिएका  हुन् ।

‘प्रधानमन्त्रीको कदम सरासर असंवैधानिक र अलोकतान्त्रिक हो भन्दै आएका थियौं । पहिलो दिनबाटै यो कदमको विरोध हामीले गर्दै आएका थियौँ, अदालतको फैसलालाई पर्खन र धैर्य गर्न हामी बाध्य थियौँ तर पनि हामीले विघटनको विरोध गरिरहेका थियौँ ।’ कोइरालाले अदालतले कुनै पनि दबाब र प्रभावमा नपरी फैसला सुनाएर आफ्नो छवि उचो बनाएको बताए ।

उनले अदालतले दिएको फैसला आमजनताको पक्षमा भएको बताउँदै ‘राजनीतिक नेतृत्वले ख्याल गर्नुपर्ने भनेको अब सरकारले कस्तो कदम चाल्छ भन्नेमा सतर्क भएर अघि बढ्न आवश्यक रहेको बताए । ‘मलाई लाग्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयास समेत गर्न सक्छन्‚ त्यो राम्रो होइन उहाँले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’

प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आम जनतासँग माफी माग्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया