किसानसँग ८० मा उठाएर दुई सयमा बिक्री

  • ध्रुवराज खनाल

विचौलियाका कारण किसानले च्याउको उचित मुल्य पाउन सकेका छैनन् भने उपभोक्ताले अत्यधिक मूल्यमा खरिद गरेर उपभोग गर्नुपरेको छ । पछिल्लो समय च्याउ उपभोग गर्नेहरुको संख्या बढ्दै गएको छ । यसैको फाइदा उठाउँदै किसानलाई जतिसक्दो च्यापेर कम मूल्यमा खरिद गर्ने गरिएको छ भने उपभोक्ताले बढी मूल्य तिरेर उपभोग गर्नुपरेको छ ।

आफूले उत्पादन गरेको च्याउ बिक्री नहुने हो कि भन्ने डरले किसानले पनि सप्लायर्सलाई बिक्री गरेको मूल्य हतपत्त बताउन चाहादैनन् । च्याउ उत्पादक किसान कृष्ण प्रसाद शर्मा च्याउको उपभोग बढेको बताउँछन् । तर उनी आफूले उत्पादन गरेको च्याउको बिक्री मूल्य खुलेर बताउन चाहँदैनन् । किसानका अनुसार प्रतिकिलो ८० रुपैयाँसम्म मूल्य उनीहरुले पाउने गरेका छन् । तर अहिले बजारमा च्याउ प्रतिकिलो २ सय रुपैयाँसम्म पर्दछ ।

‘सिजनका बेला घाटामा व्यवसाय गर्नु परेको छ,’ च्याउ उत्पादक संघका केन्द्रीय सदस्य समेत रहेका शर्माले भने‚’ किसान भित्री व्यथा बताउन चाहँदैनन्, अफ सिजनमा मात्रै केही फाइदा हुन्छ । एक किलो च्याउ उत्पादन गर्न ९० रुपैयाँसम्म पर्ने किसान बताउँछन् । कार्तिकदेखि फागुनसम्मलाई च्याउको सिजन मानिन्छ । अफ सिजनमा भने उत्पादन गर्न सके किसानले नै १५० देखि २०० रुपैयाँसम्म प्राप्त गर्ने शर्मा बताउँछन् । नेपालमा कन्ने च्याउ र गोभ्रे च्याउ उत्पादन हुँदै आएको छ तर कन्ने च्याउ उपभोग गर्नेहरु तुलनात्मक रूपमा बढी छन् ।

चितवनमा च्याउ खेतीमा ३० करोड रुपैयाँ लगानी भएको छ । यसको उत्पादनबाट वार्षिक ४० लाखसम्म कारोवार गर्ने किसान पनि छन् । जिल्लामा ५ जना किसानले सो मूल्य बराबरको च्याउ बिक्री गर्ने गरेको केन्द्रीय सदस्य शर्माले बताए । त्यसबाट ७ लाखसम्म बचत हुन्छ ।

चितवन च्याउ उत्पादक संघका महासचिव कृष्ण प्रसाद आचार्यका अनुसार जिल्लामा दैनिक एक टन अर्थात् १० क्विन्टल च्याउ उत्पादन हुँदै आएको छ । संघमा साना ठूला गरी २०० जना किसान आबद्ध छन् । त्यसमध्ये आधाभन्दा बढी कालिका नगरपालिकाको पदमपुरका मात्रै छन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल च्याउको उत्पादन र उपभोगमा धेरै परिवर्तन आएको बताउँछन् ।

च्याउमा पर्याप्त मात्रामा प्रोटिन पाइने भएकाले सबैका लागि यो परिकार उपयुक्त हुने ढकालले बताए । ‘धार्मिक आस्थाले च्याउलाई प्रयोग गर्ने गरिन्थ्यो’‚ ढकाल भन्छन्‚ ‘च्याउको महत्व बुझ्दै जाँदा उपभोग गर्ने क्रम बढिरहेको छ । च्याउको उत्पादनपछि बजारीकरण सुनिश्चित हुन सके आर्थिक उपार्जन राम्रो हुने उनी बताउँछन् ।

प्रतिक्रिया