अविश्वासको प्रस्ताव पारित गराउन दलहरुसँग गुहार माग्दै आचार्य

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

आइतबार प्रदेश सभामा मुख्यमन्त्री राईबाट नै मन्त्री पदबाट बर्खास्तीमा परेका नेकपा दाहाल-नेपाल समूहका सांसद ईन्द्रबहादुर आङ्बोले प्रदेश सभामा अविश्वासको प्रस्ताव टेबुल गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल हुँदा सरकारको कुनैपनि प्रतिनिधित्व थिएन ।

नेकपा संसदीय दलको नेताको तर्फबाट शेरधन राईले दलको आन्तरिक विवाद नमिल्दासम्म सभा संचालन नगर्न लिखित सुझाव दिएका थिए । सुझावको बाबजुद पनि सभामुख प्रदिपकुमार भण्डारीले सदन सुचारु गरेर अविश्वासको प्रस्ताव पेश गर्न अनुमति दिएका हुन् ।

आगामी बैठक फागुन २० गते १ बजेसम्मका लागि स्थगन भएको छ । प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएका भिमप्रसाद आचार्यले सबै दललाई समेटेर अविश्वासको प्रस्ताव पास गराएरै छाड्ने बताए । उनले अविश्वासको प्रस्ताव पास भएसँगै सबै दलहरुसँग मिलेर संयुक्त सरकार बनाउने दाबी गरे ।

‘संसदको विश्वास गुमाएपछि मुख्यमन्त्री राईले अनेकौँ तिक्डम गरेर, धम्की दिएर, तर्साएर आफ्नो आयु लम्ब्याउन खोजेका छन्,’ आचार्यले भने, ‘त्यो कदम निरंकुश, तानाशाही, गलत र सत्तालिप्साको नमूना हो, त्यो एकदमै गलत छ। हामी त्यसको भर्त्सना गर्दछौँ ।’

प्रदेश सभा भंग गर्छु भनी दिएको अभिव्यक्तिलाई ईंगित गर्दै आचार्यले सक्ने भए गरेर देखाउन चुनौती दिए । ‘उहाँ जनमत गुमाएको मुख्यमन्त्री हो, दलको नेता पनि होइन,’ उनले भने, ‘यो विश्वास गुमाएको, च्यालेन्ज भइसकेको मुख्यमन्त्रीले कसरी विघटन गर्न सक्छ ?’ सबै दलको सहयोग लिएर राजनीति स्थायित्वको लागि अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया