‘फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी’

जेरुसेलम– इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ। इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ।

इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तीव्र रहेको छ। डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ।

खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाइ छ। साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ। इजरायलले बजारमूल्यभन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ।

प्रतिक्रिया