संसद् पुनःस्थापना हुने भएपछि ओली आत्तिए :पाैडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले विराटनगरमा भएको सभामा सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताए आन्दोलन गर्ने अभिव्यक्ति दिनु उनी आत्तिएको प्रमाण भएको बताएका हुन् । ओलीले आन्दोलनमा जान्छौँ भनेर अदालतलाई धम्क्याएको पौडेलले बताए ।

‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदैछन’, पौडेलले भने, ‘यो अदालतमाथि धम्की त हुँदै हो सँगै अदालतले संसद् पुनःस्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो ।’

पौडेलले नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको स्वीकार पनि गरे ।

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले यसको विरोध गर्ने भनेर केन्द्रीय समितिले निर्णय गरिसकेको तर पार्टी नेतृत्व यो कुरामा अडिन नसकेको वरिष्ठ नेता पौडेलको आरोप लगाए । उनले केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरौँ र संवैधानिक आयोगका नियुक्ति खारेज गर्ने निर्णय गरौं भन्दा सुनुवाइ नभएको गुनासो पनि गरे ।

आन्दोलन गर्ने पैसा छैन भन्ने सभापति शेरबहादुर देउवाको अभिब्यक्ति आपत्तिजनक भएको बताउँदै नेता पौडेलले भने–‘पार्टीले त आन्दोलनलाई नेतृत्व दिने हो पैसा दिने होइन, यो गैरजिम्मेवार अभिव्यक्ति हो ।’

आफु प्रतिनिधिसभामा नभएकाले प्रतिनिधिसभा पुनःस्थापनाबाट ब्यक्तिगत रुपमा आफुलाई कुनै लाभ नहुने भएपनि विधी रक्षाका लागि कांग्रेसको स्थापना भएकाले त्यसकै लागि प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेको पौडेलले बताए । ‘विधी रक्षा हुन सकेन भने देशलाई कांग्रेस किन चाहियो ?’ पौडेलले प्रश्न गरे ।

प्रतिक्रिया