प्रचण्डलाई बालकृष्ण ढुंगेलको प्रश्न– तपाईँले चलाएको आन्दोलनबाट कोही मरे शहीद भन्नुहुन्छ कि मृतक ?

  • सुमन सुस्केरा

विराटनगर । नेकपा ओली समूहका नेता बालकृष्ण ढुंगेलले जनताले अब आन्दोलनमा साथ नदिने बताएका छन् । ढुंगेलले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुरु गरेको आन्दोलनबाट कोही व्यक्तिको मृत्यु भए त्यसलाई के भनी सम्बोधन गर्ने भन्दै प्रश्नसमेत गरेका छन् ।

शनिबार विराटनगरमा आयोजित बृहत् सभालाई सम्बोधन गर्दै ढुंगेलले दाहाललाई प्रश्न गरेका छन्, ‘तपाईँले चलाएको आन्दोलनबाट कोही मरे शहीद भन्नुहुन्छ कि मृतक ?’ १० बर्षे जनयुद्धमा मरेका व्यक्तिहरुलाई सम्बोधन गर्न नसकेको अवस्थामा अहिले कोही व्यक्तिको मृत्यु भए दाहालसँग दिनसक्ने जवाफ नभएको उनले उनले बताए ।

कार्यक्रमको शुरुमा नै ढुंगेललाई बोल्न दिइएको थियो । दाहाल र माधवकुमार नेपालले उठाएका एजेण्डा विस्तारै तुहिन थालेको समेत ढुंगेलको तर्क थियो । ‘नेपाली जनता हुल हुज्जतको समूह चाहँदैनन्’, ढुंगेलले भने, ‘हुल हुज्जतमा नगएर पनि नेपाली जनता संविधान रक्षाको लागि तयार छन् ।’

ढुंगेलले सरकार र सत्ता पूर्वप्रधानमन्त्री चलाउने नभई वर्तमान प्रधानमन्त्री र मन्त्रीहरुले चलाउने भएको कारण ‘सरकार मलाई चलाउन देऊ’ भनेर आन्दोलनमा जानुको अर्थ नभएको उनले बताए ।

कार्यक्रममा नै बोल्दै सुनसरीकी नेतृ भगवती चौधरीले देश चुनावमा गएकोले अब कसैले बिरोध गर्दैमा नरोकिने बताइन् ।

प्रतिक्रिया