प्रतिबन्धहरू फुकुवा गर्न अमेरिकासँग इरानको पुनः आग्रह

तेहरान– इरानले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न शुक्रबार नयाँ अमेरिकी प्रशासन समक्ष पुनः आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले उक्त धारणा सार्वजनिक गरेको हो ।

इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफले एक ट्वीट गर्दै पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु बिनाशर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार युरोपेली गठबन्धनका मुलुकहरुको अगुवाइमा बाइडेन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली मुलुकहरु एक ठाउँमा उभिन लागेका हुन् ।

इरानले आणविक सम्झौता कायम राख्न आइतबारसम्मको समयावधि तोकेको थियो । इरानको परिस्थिति निकै नाजुक बनिसकेको जनाउँदै अझै युरोपेली मुलुकको मात्र कुरा सुनेर धैर्य गर्न नसकिने इरानको भनाइ थियो ।

अमेरिकी नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आइतबारकै समयसीमा नतोक्न आग्रह गरेका थिए ।

फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीहरुसँगको भिडियो कन्फेरन्स सम्पन्न भएको केही घण्टापछि युरोपेली युनियनका राजनीतिक निर्देशक एन्रिक मोराले ट्वीट गर्दै इरान र अमेरिका सम्मिलित अनौपचारिक बैठक गर्न सहमति जुटेको जानकारी दिएका थिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानी आणविक कार्यक्रमका बारेमा कुटनीतिक पहलका लागि इरान र आणविक सम्झौता पक्षधरबीच छलफल गर्न गरिएको निमन्त्रणालाई अमेरिकाले स्वीकार गरेको बताएका छन् ।

इरानको सन् २०१५ को आणविक सम्झौतामा राष्ट्रसंघको स्थायी समितिका सदस्यहरु बेलायत, चीन, फ्रान्स, रूस‚ अमेरिका र जर्मनीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको थियो । सम्झौतापछि इरानले आफ्नो आणविक कार्यक्रमलाई व्यापक कटौति गरेको थियो जसको बदलामा इरानमाथि लागेका आर्थिक नाकाबन्दीहरु फुकुवा गरिएको थियो ।

तर आणविक सम्झौताप्रति विमति राख्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरी इरानविरुद्ध कडा प्रतिबन्धहरु लगाएका थिए ।

प्रतिक्रिया