एपीएफ अपराजित च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरीको क्लव एपीएफ राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ ।

लिगको अन्तिम खेलमा शुक्रबार अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

उपाधिसँगै एपीएफले १५ लाख रुपैया पाएको छ । उपविजेता आर्मीले ८ लाख रुपैया, तेश्रो भएको नेपाल पुलिस क्लबले ५ लाख तथा चौथो भएको स्याङ्जाको वालिङ नगरपालिकाले ३ लाख रुपैया पुरस्कार पाएको छ । यस्तै फेयर प्लेको उपाधि जितेको रौतहटको चन्द्रपुर नगरपालिकाको क्लवले १ लाख ५० हजार रुपैया पाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

लिगका १२ वटै खेलमा कुनैपनि खेल नहारेको एपीएफले प्रतियोगितामा ७७ गोल गर्यो भने एक गोल मात्र खायो । आर्मी लिगमा दोस्रो स्थानमा रहन सफल भएको छ ।

दशरथ रंगशालामा भएको शुक्रबारको खेलमा एपीएफलाई जिताउन सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन् ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित सरु लिम्बुले यमाहाको स्कुटर पुरस्कार पाएकी छन् ।

यसैगरी, एपीएफका प्रशिक्षक भगवती थापा उत्कृष्ट प्रशिक्षक, एपीएफकै सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, नेपाल पुलिस क्लवका अमृता जैसी उत्कृष्ट रक्षक र उषा नाथ उत्कृष्ट गोलकिपर तथा आर्मीका बिमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भए । सबैले जनही ५० हजार रुपैया पुरस्कार पाएका छन् ।

प्रतिक्रिया