के राजनीति परिवारको पेवा हो?

  • नारायण वाग्ले

साथीहरू, ज्वज्वलपा, फ्याफुल्ला। आज ७० वर्षपछि एउटा सही साइतमा हामी यहाँ उभिएका छौं। इतिहास फर्केर हेरौं। अलि अगाडिको इतिहास सम्झेर हाम्रो राजनीति नियालौं कसरी जनताको ठाउँ शासकहरूले कब्जा गर्ने गरेका छन्, जनताको भावनामाथि कसरी कुस्ती खेल्ने गरेका छन्। लिच्छविकालको त्यो विशाल उखुचौर- आजको माइतीघरदेखि लैनचौरसम्म। तु भनेको उखु । ख्य चौर । तुख्य टुडिखेल । तुखुचा टुकुचा- उखुको रस जत्रै बहाव भएको सानो नदी।

काठमाडौं उपत्यकाको यो विराट छाती, आम जनताको यो विशाल सम्पति के भयो ? नारायणहिटी बनाइयो, वागदरवार बनाइयो । सैनिक परेड छाउनीबाट सारेर टुडिखेल ल्याइयो। लालदरवार, सेतोदरवार, चारबुर्जा दरवार, फोहरा दरवार, केशरमहल बनाइयो। सैनिक तोपखाना यहीं राखियो। सानो टुडिखेललाई रंगशाला बनाइयो। सैनिक मुख्यालय बनाइयो। पार्टी प्यालेस बनाइयो। उपत्यका बाहिरबाट आएका यात्रु बस्ने बाटुले चौतारो भएको ठाउँ मासेर रत्नपार्क बनाइयो। आज त्यहाँ पस्न पैसा तिर्नुपर्छ साथीहरू। फागुको चिर टुडिखेल भद्रमसानमा लगेर जलाउने गरिन्थ्यो। पंचायतकालमा सैनिक मंच बनाएपछि लिच्छविकालको त्यो परम्परा सक्कियो।

दुईतिरका खट ल्याएर जुधाउने गरिएको ठाउँ, खरीको बोट काटियो र काँडेतार ठोकियो। गुरूमापा होउन् कि अजिमा सैनिक पहराभित्र बस्नुपरेको छ। किन ? हाम्रा शासकहरूलाई म आज सोध्न चाहन्छु। तिमीले भट्याउने गरेको विकास के हो? दुई हजार वर्ष लगाएर समुदायले बनाएको यो नेपाल मण्डल आज के भयो? पानी संचय र प्रशोधन गर्ने त्यो विशाल ऊखुबारी र नर्कटघारीलाई कबाज मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको थाहा छ कि छैन?

राजकुलो कसले काट्यो किन काट्यो? यहाँका परिश्रमी जनतालाई खेती नगर भनेको हो कि होइन? खेती नगर, जग्गा चाना पारेर आना आना बेच। ढुंगेधाराको पानी पिउनु ढुंगे युगमा जिउनु हो भन्ठानेको तिमीले? सयौं वर्ष पुराना सित्तैमा पानी पाइने धाराहरू सुकाएर महंगो मेलम्चीको सपनाको देखाएको देखायाै। यो धोका हो कि होइन? काठमाडौं आफै समृद्ध थियो, तिम्रो समृद्धिको नारा षडयन्त्र हो कि होइन?

हामी संस्कृतिमा धनी भनेको छ, डोजर चलाएको छ। हामी सम्पदामा धनी भनेको छ, पोखरीमा सिमेन्ट हालेको छ। हामी जात्रामा धनी भनेको छ, गुठी मास्ने कानुन ल्याएको छ। चिनियाँ बादशाहको वाहवाही पाउने अरनिको कसले जन्मायो कसले हुर्कायो? कसले सिकायो? कुन सभ्यता र संस्कृतिले? आत्मसम्मान, आत्मविश्वास र आत्मनिर्भरता लोकतन्त्रले झन् प्रवर्द्धन गर्नुपर्ने हो कि होइन? तिम्रो पराधीन मानसिकता किन आयो? कहाँबाट आयो? आजका अरनिकोहरू आँसु निल्दै अरबतिर जानुपर्ने कसले बनायो?

साथीहरू, खरीबोटलाई साक्षी राखेर नेपालमा पहिलोपल्ट प्रजातन्त्र घोषणा भएको थियो। खरीबोट मासियो, प्रजातन्त्र भासियो। न संस्कृतिसहितको प्रकृति रह्यो, न जनमतसहितको प्रजातन्त्र। न प्रकृति न प्रजातन्त्र। प्रजातन्त्रका नाममा सलामी चढ्न थाल्यो र हामी जनतालाई फेरि गराउन थाले गुलामी। ७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौं- अब नो सलामी, नो गुलामी। शासकहरूलाई हामी प्रश्न गर्छाैं- के परिवर्तन भयो? के नेपालबाट चाकडी प्रथा गयो? के चाप्लुसी गर्नेहरू बदलिए? के चाटुकारहरू घटे? आज ७० वर्षपछि पनि हरेक ठूलाठालुको निवासमा दर्शनभेट चल्छ कि चल्दैन? जी हजुरी जारी छ कि छैन ?

के नेपालबाट जन्मिदै जर्नेल, नाति जर्नेलको प्रथा गयो फलानोको छोरा ढिस्कानोका नाति जन्मिदै नेता हुने प्रथा किन हटेन? वंशवाद किन गएन? के राजनीति पनि परिवारको पेवा हुन्छ? के राज्य पनि कसैको ठेक्का हुन्छ? के जनताले गरेको बलिदान तिमीले फिक्का पार्न मिल्छ?

साथीहरू, हामीलाई थाहा छ- नेपालको इतिहास भनेको जनताको संघर्षको इतिहास हो। आन्दोलनहरूको इतिहास हो। तर, जनताको बुई चढेर जो ठूला दरवारमा पुग्छन्, सलामी र गुलामीको चौघेराबाट लोकतन्त्रको टुँडिखेलमा कबाज खेल्न थाल्छन्। टुंडिखेल मास्ने र मासिएको टुलुटुलु हेर्नेहरूले लोकतन्त्रको विराट अठोट मास्ने गर्छन्। संविधान मास्ने गर्छन्। संसद मास्ने गर्छन्। जनताका सपना मास्ने गर्छन्।

जनताका विशाल बलिदानहरू सम्झिँदै हामी आज यहाँ उभिएर वाचा गर्दैछौं साथीहरू- अब हामीलाई मुक्त टुंडिखेल चाहिन्छ, अब हामीलाई खुला लोकतन्त्र चाहिन्छ, अब हामीलाई आफ्नो पौरख र प्रतिभाको विकास चाहिन्छ, अब हामीलाई शीर उभ्याएर संसार नियाल्ने निर्भीक नागरिकतन्त्र चाहिन्छ। साँच्चैको लोकतन्त्र चाहिन्छ। पराधीन मानसिकता होइन, परिश्रम गर्नेले देशभित्रै आत्सम्मान पाउने व्यवस्था चाहिन्छ।

किसान हुँदा गर्व गर्ने, मजदूर हुँदा लड्न सक्ने, हामीलाई साथीहरू आम नागरिकले शीर ठाडो गर्ने अवस्था चाहिन्छ। आज हामीले घोषणापत्र जारी गरिसकेपछि कबोल गर्नुपर्ने भएको छ। अब हामी साथीहरू, देशभरिका नागरिक तथा सामाजिक समूहहरू, विभिन्न मोर्चा र मैदानमा संघर्षशील स्वप्नजीवीहरूसँग संवाद गर्दै नागरिक आन्दोलनमार्फत् जीवन्त नागरिक दबाबको आगो भर्भराउने छौं। र, त्यो आगो लिएर मनपरीतन्त्र विरूद्ध अनवरत खबरदारी गरिरहने छौं। ल्हास्सो।

(वाग्लेले टुँडिखेल मार्चको क्रममा गरेको सम्बोधन)

प्रतिक्रिया