प्रदेशमा अस्थिरता सिर्जना गर्ने प्रयास भयो : मुख्यमन्त्री राई

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने प्रयास भएको बताएका छन् । ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गरी संघीयताको मुटुको रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने काम सुरु भएको उनकाे भनाई छ । जनताको विकास र समृद्धिको चाहनालाई तुसारापात गर्ने उदेश्यका साथ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको राईले तर्क छ । ‘विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छु,’ उनले भने, ‘सरकार भाग्न खोजेको छैन, तर्किन-पन्छिन खोजेको छैन तर, हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं ।’

अहिले उठाइएका वैधानिक प्रश्नहरु अहिलेको आफ्नो पद र कार्यकालसंग सम्बन्धित नभई नितान्त, संबिधान, कानुन र त्यसबाट निर्देशित दलीय कानुन र दलीय वैधानिक व्यवस्थाहरुसँग सम्बन्धित रहेको राईको भनाई छ । ‘उल्लंघन भएका वैधानिक प्रश्नमा लचिलो हुनै सक्दैनौँ,’ राईले भने, ‘हामी प्रणाली स्थापित गर्न आएका हौं, संविधान कानून नियम र विधि विधान मिच्ने कुरासँग हाम्रो सम्झौता हुन सक्दैन् ।’

दुनियाँका लोकतान्त्रिक मुलुकहरुको संसदीय अभ्यासमा अनि हाम्रो संसदीय अभ्यासमा, त्यस अन्तर्गतको मूल्य मान्यता, दलीय वयवस्था र प्रणालीमा दल र त्यसका विधानहरु नै प्रमुख हुने स्मरण गर्दै राईले दलीय व्यवस्थामा दलका सदस्यहरु लगाम बाहिर नहुने र स्वतन्त्रसमेत नुहने भएकाले यो सार्बभौम सत्य कुरा भएको स्पष्ट पारे ।

‘हामीले यी कुराहरुको होक्का राख्नु, जनताको बलिदानबाट प्राप्त व्यवस्था र प्रणालीलाई संस्थागत गर्नु त्यसको रक्षा गर्नु, आजको औपचारिक नेतृत्व र जिम्मेवारीमा बसेका हामीहरुको दायित्व हो,’ उनले भने, ‘यसमा गम्भीर बन्नका लागी सम्बन्धित सबै पक्षलाई आग्रह गर्न चाहन्छु ।’

कानूनी र वैधानिक प्रश्नहरुको निरुपण गर्दै प्रदेशमा उत्पन्न अन्यौलको चाडै अन्त्य गर्नका लागी सरकार तयार रहेको उनको दाबी छ । मुख्यमन्त्री राईले प्रदेशको नामांकन गर्न बाँकी रहेकोे यही अधिवेशनबाट टुंगो लगाउने पनि स्पष्ट पारे ।

प्रतिक्रिया