रमाना बुझ्दै गोपीनाथले भने- नियतिले धेरै गर्न दिएन

काठमाडौँ । शिक्षा मन्त्रालयबाट सरुवा भएका सचिव गोपीनाथ मैनालीले उपराष्ट्रपति कार्यालयको सचिवका रुपमा रमाना बुझेका छन् । मैनाली शिक्षा मन्त्रालयबाट ५ महिनामै सरुवा भएका हुन् ।

यसअघि उनलाई शिक्षा मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा लग्ने निर्णय गरिएको थियो । तर उनले त्यहाँ जान अस्वीकार गरेका थिए, त्यसपछि उनको सरुवा सच्च्याइएको हो । कर्मचारी वृत्तमा इमान्दार छवि भएका मैनाली छिटोछिटो सरुवामा पर्दै आएका छन् ।

छोटो समयमै गरिएको सरुवाप्रति असन्तुष्टि जनाउँदै उनले ‘नियतिले धेरै गर्न दिएन’ भनेका छन् । यद्यपि शिक्षा मन्त्रालयमै पनि आफूले छोटो कार्यकालयमा केही राम्रा काम गरेको उनको दाबी छ । ‘शिक्षा मन्त्रालयमा धेरै कामहरु थालनी भएका छन्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विद्यालय क्षेत्र सुधार योजना, संघीयता अनुरुपका कानून निर्माण, शिक्षक समायोजन, संगठन पुनसंरचना, छात्रवृत्ति व्यवस्थापन, नेपाली डायस्पोरासँग नेपाली शिक्षाको सहकार्य र उच्च शिक्षामा छात्रवृत्ति जस्ता राम्रा काम भएका छन् ।’

कोभिडको सन्त्रास, पठन पाठन र कक्षा १२ लगायतका परीक्षाहरु रोकिएको, डा गोविन्द केसीको आमरण अनसन जस्ता जटिल समस्या रहेको समयमा आफू शिक्षा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको भन्दै उनले ती समस्या समाधानमा सफलता मिलेको बताए । उनले यसकार्यमा आफूलाई मार्गदर्शन मन्त्रीलगायत सबैप्रति आभारसमेत प्रकट गरेका छन् ।

प्रतिक्रिया