आइपिएल अक्सन आज : कसले अनुबन्ध गर्ला सन्दीपलाई ?

काठमाडौं । विश्वकै चर्चित क्रिकेट प्रतियोगिता आइपिएलमा खेलाडीको बोलकबोल (अक्सन) आज (बिहीबार) हुँदैछ। बोलकबोलको कार्यक्रम चेन्नईमा दिउँसो सबा ३ बजे सुरु हुने बताइएको छ।

अक्सनमा १ सय २५ जना विदेशीसहित कुल २ सय ९२ जना खेलाडी सहभागी हुनेछन्। जसमध्ये २२ विदेशीसहित ६१ खेलाडीलाई मात्र क्लबहरुले लिनेछन्।

अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन्। नेपालबाट ८ जना खेलाडीले नाम दर्ता गराएकोमा अन्तिम छनौटमा सन्दीपमात्र अटाएका हुन्।

अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु राखिएको छ।

सन्दीपले यसअघि आइपिएलको तीन सिजन दिल्ली क्यापिटल्स (शुरुमा दिल्ली डेर डेभिल्स) क्लबबाट खेलेका छन्।

सन्दीपले आइपिएलका तीन सिजनका ९ खेलमा १३ विकेटसमेत लिएका थिए।

दिल्ली क्यापिटल्सले रिलिज गरेपछि सन्दीपको नाम आजको बोलकबोलमा सहभागी हुन लागेको हो।
आइपिएलसहित  बिग ब्यासलगायत विश्वका चर्चित क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका सन्दिपलाई आइपिएलमा कुन टिमले अनुबन्ध गर्ला भन्ने उनका प्रशंसक र नेपाली खेलप्रेमीका लागि चासोको विषय बनेको छ।

सन्दीपले आइपिएलसहित विश्वका अन्य लिगमा मध्यम प्रर्दशन गर्दै आएका छन्। आइपिएलमा भने उनले सबै खेलमा खेल्नै पाएका छैनन्।

अर्का स्पिनर अमित मिश्रा पनि दिल्ली क्यापिटल्समै रहेकाले उनले तीन सिजनमा जम्मा ९ खेल मात्र खेल्न पाए। सन्दिप ब्याटिङमा केही कमजोर रहेका कारण पनि टिममा मौका कम पाएको कतिपयले आँकलन गर्ने गरेका छन्।

यसपटक धेरैजसाे टिममा स्पिनरकाे काेटा पूरा भइसकेकाले टिमकाे ध्यान फाष्ट बलर र अलराउन्डरमा रहने तथा विदेशी खेलाडीकाे काेटा पनि सीमित मात्र हुने भएकाले सन्दिपलाई कुन टिमले लैजाला भन्न सकिहालिने अवस्था छैन।

तर, कम मूल्यका कारण उनलाई अनुबन्ध गर्ने सम्भावना धेरै रहेकाे विश्लेषण गर्नेहरु पनि छन्। राजस्थान राेयल्स, किँग्स इलाभेन पञ्जाब, मुम्बाइ इन्डिन्सलगायत टीममा स्पिनरकाे बढी खाँचाे रहेकाले यी टीमले सन्दिपलाई लिने सम्भावना अलि बढी देखिएकाे छ।

तर, उनलाई कुन टिमले अनुबन्ध गर्छ भन्ने टुँगाे लाग्न भने विहीबार दिउँसो सवा ३ बजेपछि शुरु हुने आइपिएलको अक्सन कुर्नैपर्नेछ।

प्रतिक्रिया