अमेरिकामा हिमआँधीबाट कम्तिमा २० जनाको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन्। अमेरिकी जलवायु सेवाका अनुसार दक्षिण-पश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलो हिमआँधी आएको छ।

टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन्। सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मङ्गलबार बिहान एक महिना र तीन बालबालिकाको मृत्यु भएको छ।

उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन्। दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नु परेको छ। खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन्। -रासस/सिन्ह्वा

प्रतिक्रिया