भारतमा एकैदिन ११ हजारभन्दा बढीमा देखियो कोरोना संक्रमण

नयाँदिल्ली । भारतमा एकैदिन ११ हजारभन्दा बढीमा काेभिड- १९ संक्रमण पुष्टि भएकाे छ।

मंगलबार थप ११ हजार ६१० जनामा कोरोना संक्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ९ लाख ३७ हजारभन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसका साथै भारतमा कूल एक लाख ५५ हजार ९१३ संक्रमितको मृत्यु भएको छ भने हाल सक्रिय संक्रमितको संख्या एक लाख ३६ हजार रहेको छ। एक करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन्।

भारतले गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो। देशभर करिब ९० लाख व्यक्तिले खोप लिइसकेका छन्‚ जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन्। यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमूना परीक्षण गरिएको छ। पछिल्लो पटक आइतबार एकैदिन ६ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।

भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ। विश्वभर कोभिड–१९ बाट करिब ११ करोडभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ३० हजार व्यक्तिको ज्यान गएको छ।

संयुक्तराज्य अमेरिकामा चार लाख ९९ हजार, ब्राजिलमा दुई लाख ४० हजार, मेक्सिकोमा एक लाख ७५ हजार, बेलायतमा एक लाख १८ हजार, इटालीमा ९४ हजार र फ्रान्समा ८२ हजारको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो। कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ। विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन्। – रासस/सिन्ह्वा

प्रतिक्रिया