विभिन्न जिल्लामा चारजना मृत फेला

काठमाडौं । विभिन्न चार जिल्लामा चारजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बागमती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ। घरमा कसैलाई  जानकारी नदिई निस्केका उनी मृत फेला परेका हुन्। घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-६ टोलटोलेस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी सल्यानकाे बनगार कुपिण्डे नगरपालिका-६ चिथौरेस्थित कुले खत्रीको घरमा नाताले उनकी साली पर्ने सुर्खेत विरेन्द्रनगर नगरपालिका- १० रहरपुरकी ३४ वर्षीया सपना रावत जैशी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। भेटघाटको सिलसिलामा सोमबार चिथौरे आएका सपना र उनका पति कृष्णप्रसाद जैशी साँझ खाना खाएर सुतेकोमा बिहान सपना मृत फेला परेकी हुन्।

पर्सामा पनि एकजना मृत अवस्थामा फेला परेका छन्। वीरगञ्ज महानगरपालिका-१० स्थित कलवार धर्मशालाको कोठा नम्बर १ मा बस्दै आएका सोही महानगरपालिका-८ गहवा बस्ने ६५ वर्षीय विश्वनाथ प्रसाद साह कानु सोही कोठामा मंगबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेकाे स्थानीय प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया