मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पच्चीस वर्षपछि (कविता) : अनमाेलमणि

  • अनमोलमणि

पच्चीस वर्षपछि फेरि भेटियौँ हामी अचानक
यो पच्चीस वर्षमा
मैले हावालाई सोधेँ-
कतै ठोक्कियौ कि तिमी ?
तिमीले बाटोलाई सोध्यौ-
कतै छुटेको छ कि मेरो पैतालाको डोब ?

मैले पहरेदारजस्तो उभिएको बुढो सिमलको रुखलाई सोधेँ-
जानुअघि त्यो सियालमा सुस्तायौ कि तिमी ?
तिमीले पिलपिल ताराहरुलाई सोध्यौ-
मध्यरातमाकुनै एक्लो बटुवाले गन्यो कि कहिल्यै ?
र मैले घामलाई सोधेँ-
कतै छायामा देख्यौ कि वर्षौअघि छुटेको मेरो साथी ?

निरुत्तर म हिँडिरहेँ एक्लैएक्लै जसरी हिँड्यौ तिमी ।
निरुत्तर तिमी हिंडिरह्यौ एक्लैएक्लै जसरी हिँडेँ म ।

हामीले नदीलाई सोध्यौँ
कसैले मेट्यो किप्यास ?
ढुंगालाई सोध्यौँ
कसैलाई लाग्यो कि ठेस ?
काँढाहरुलाई पनि सोध्यौँ
बिझ्यो कि कुनै पैतालामा ?

निरुत्तर तिमी हिंडिरह्यौ एक्लैएक्लै जसरी हिँडेँ म ।
निरुत्तर म हिँडिरहेँ एक्लैएक्लै जसरी हिंड्यौ तिमी ।

अचानक भेटियौँ
र हामीले एकअर्कालाई सोध्यौँ पच्चीस वर्षपछि अहिले–
के थियो त्यस्तो भुल्नै नसक्ने तिमी सित
के थियो त्यस्तो सम्झिरहनुपर्ने म सित
एकै छिनलाई त भेटिएका थियौँ हामी पच्चीस वर्षअघि
विदाइको हात समेत नहल्लाई छुट्टिँदा पनि
कसरी कुँदिएछ हृदयमा नमेटिने गरी एकअर्काको नाम ?
किन सम्झनाले घोचिरह्यो यसरी पच्चीस वर्षसम्म ?
र कसरी खिल बनेर मुटुमै बस्यो याद ?

निरुत्तर हामीले फेरि फर्केर हे-र्यौँ बितेका पच्चीस वर्ष !

प्रतिकृयाहरु
Loading...