एमबाप्पेको ह्याट्रिकमा बार्सिलोना स्तब्ध

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदान क्यामनेउमा सम्पन्न खेलमा पीएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एम्बाप्पेले खेलको ३२, ६५ र ८५औै मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

त्यस्तै मोइज कीनले पीएसजीका लागि खेलको ७०औं मिनेटमा एक गोल गरेका थिए । यस अघि खेलको २७औं मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

आफ्ना स्टार खेलाडी नेइमार बिना खेलेको पीएसजीले पहिलो लिगमा लिएको यस अग्रताका अधारमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको छ । अब दोस्रो लिग पीएसजीको घरेलु मैदानमा मार्च १० गते राति हुनेछ ।

प्रतिक्रिया