‘संसद् पुनर्स्थापना नभए द्वन्द्वको कारक सर्वोच्च हुन्छ’

  • धनबल राई

काठमाडौं । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि त्यसविरुद्धको दर्जनौं रिटउपर सर्वोच्च अदालतमा बहस चलिरहेको छ । त्यसमा पनि मंगलबारबाट एमिकस क्यूरीको बहस प्रारम्भ भएको छ । योसँगै अब फैसला सुन्न धेरै दिन कुर्न नपर्ने कानून व्यवसायीहरुले बताएका छन् । यसअघि नै पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेको यो मुद्दामा अब अदालतले कस्तो फैसला गर्ला भन्नेतिर सबैको ध्यानकेन्द्रित हुन थालेको छ ।

खासगरी संसद् विघटनपछि नै राजनीतिक रुपमा आ–आफ्नो बाटो लागेका ‘डबल’ नेकपाभित्रै यो विषयमा रस्साकस्सी चलेको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाले संसद् विघटन संविधानअनुसार भएकोले पुनर्स्थापना नहुने बताउँदै आएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वको नेकपाले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुनैपर्ने अडान राख्दै आएको छ ।

यसैबीच यता विपक्षी नेकपाका नेता लीलामणि पोखरेलले पनि संसद् पुनर्स्थापना नहुने कुरामा आफूले कल्पना पनि नगरेको बताएका छन् । ‘संसद् पुनर्स्थापना हुँदैन भनेर मैले कल्पना पनि गर्न सक्दिनँ’, नेता पोखरेलले मकालु खबरसँग कुराकानी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले संविधानअनुकूल संसद् विघटन गरेका छैनन् । त्यसो हुँदा संसद् पुनर्स्थापना हुँदैन भनेर कल्पना गर्न सकिन्न । संसद् पुनर्स्थापनाको विकल्प छैन ।’

सर्वोच्चको काम संविधानको रक्षा गर्ने भएको बताउँदै नेता पोखरेलले संसद् विघटनलाई संविधानमाथिको प्रहारको रुपमा अर्थ्याएका छन् । ‘सर्वोच्चको काम भनेको संविधानको रक्षा र व्याख्या गर्दै संरक्षकत्व ग्रहण गर्नु हो’, नेता पोखरेलले भनेका छन्, ‘सर्वोच्चले पनि संविधानमाथिको ठाडो हस्तक्षेपमाथि सदर गर्यो भने मुलुकमा विडम्बना पैदा हुन्छ ।’

प्रधानमन्त्रीले संविधानअनुकूल प्रतिनिधि सभा विघटन नगरेको दाबी गरेका नेता पोखरेलले भनेका छन्, ‘कदम कदाचित सर्वोच्चले संसद् विघटन भएको कुरालाई सदर गरेछ भने मुलुकमा द्वन्द्वको कारक पनि सर्वोच्च नै हुन्छ । किनकी, संविधान सकिन्छ । त्यसैले भनेको त्यो कल्पना पनि गर्न सकिँदैन ।’

बैशाख १७ र २७ मा चुनाव हुन नसक्ने जिकिर गरेका नेता पोखरेलले यतिबेला सर्वोच्च अदालत अग्निपरीक्षामा रहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘चुनाव हुँदैन । संसद् पुनर्स्थापना हुन्छ ।’

तर, यता प्रधानमन्त्री ओलीसँगै उनीनिकटका नेताहरुले भने चुनाव तोकिएकै मितिमा हुने र संसद् पुनर्स्थापना नुहने अडान राख्दै आएका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले आफूनिकटको बुटवलको सभामा भनेका थिए–’चुनाव तोकिएकै मितिमा हुन्छ । तपाईँहरु ढुक्क रहनुस् । बरु अब चुनावी तयारीमा जुट्नुस् ।’

प्रतिक्रिया