म्यानमारमा प्रदर्शनकारीलाई २० वर्ष जेल हुन सक्ने !

काठमाडौँ । म्यानमारको सेनाले आफ्नो विरोध गर्नेलाई २० वर्षसम्मको जेल हुन सक्ने चेतावनी दिएको छ । जननिर्वाचित सरकारलाई ‘कू’ मार्फत अपदस्थ गरी सत्ता हातमा लिएको सेनाले आफ्नो काममा बाधा अड्चन पुऱ्याउनेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको हो ।

सैन्य नेतृत्व प्रति घृणा वा अवहेलना फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ । म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो । सेनाले गरेको उक्त कू विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री आङ सान सू चीको रिहाइ र प्रजातन्त्रको पुर्नबहालिको माग गरिरहेका छन् । सोमवार सू चीका वकिलले उनलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिए । उनीमाथि गैरकानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ ।

नयाँ व्यवस्था
सेनाले बोलेर, लेखेर वा साङ्केतिक सहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवानाको व्यवस्था गरिएको जनाएको छ ।

आफ्नो वेबसाइटमा प्रकाशन गरिएको विज्ञप्तिमा उसले सुरक्षा निकायको काम कारबाहीमा अवरोध खडा गरेमा २० वर्ष सम्म जेल सजाय हुन सक्ने उल्लेख गरेको हो । त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।

सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार शनिवार आफैलाई प्रत्यायोजन गरेको छ । सञ्चारकर्मीहरूलाई सेनाको कदमलाई कू का रूपमा व्याख्या नगर्न भनिएको छ । –एजेन्सी

प्रतिक्रिया