चुनाव हुन्छ भनेर पत्याउनेलाई रामराम मात्रै भन्न सकिन्छ : नेता सिंह

कास्की । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान मिचेका ओलीले चुनाव गराउँछन् भनेर कसैले पत्याउँछ भने त्यसलाई रामराम मात्रै भन्न सकिने बताए।

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले वैशाखमा निर्वाचन हुन्छ भन्नेलाई रामराममात्र भन्न सकिने बताए।

‘संविधान मिच्ने ओलीले निर्वाचन गराउछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ। नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानुन हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झैँ हालत हुनेछ।’

त्यस्तै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउँदै नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका छन्।

‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्ब्याउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर चुनावको चाल चलेका हुन्,’ सिंहले भने।

उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे। ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा बहसको क्रममा छ। अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्योबेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो। अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ। हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ। तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्नेगरी निर्णय गर्नेछ।’

पुनर्वहाली भयो भने नेपालको राजनीति नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ।

उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड ब्यालेन्स भएको भन्दै कार्यपालिकाले व्यवस्थापिकामाथि प्रहार गर्दा न्यायपालिकाले सच्च्याउनुपर्ने बताए।

प्रतिक्रिया