अहिलेकाे पुस्ताले जिम्मेवार पत्रकारिता गर्नुपर्छ : प्रदेश प्रमुख अधिकारी

विराटनगर । प्रदेश १ का प्रमुख साेमनाथ अधिकारीले अहिलेकाे पुस्ताले जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश १ काे दाेस्राे अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश प्रमुख साेमनाथ अधिकारी `प्यासी´ले राम्राेलाई नराम्रो र नराम्रोलाई राम्रो तत्काल बनाउन सक्ने क्षमता पत्रकारमा हुने भएकाले देशमा पत्रकारकाे महत्व बढी हुने बताए । `जे गर्याे त्याे लेख्ने, जे भयाे त्यही देख्ने काम पत्रकारकाे हाे, ’ उनले भने, ‘त्यसैले मैले भन्ने गरेकाे छु‚ सबै व्यक्ति पत्रकार हुन सक्दैनन् ।´

उनले कुना कन्दराका विषयलाई पत्रकारले बाहिर ल्याउनुपर्ने बताए । ‘सबै स्थानीय तहमा जानकार जनप्रतिनिधि छैनन् र नभएकाे पनि हुनसक्छन्,’ उनले भने, ‘उहाँहरूलाई जानकार बनाउने काममा पत्रकारले भूमिका खेल्ने हाे ।

प्रमुख अधिकारीले सेवासहित नैतिकता र नैतिकतासहित सेवाकाे पत्रकारिता गर्न आग्रह गरे । जिम्मेवारी लिने तर जवाफदेहिता वहन नगर्ने प्रवृत्तिका विषयमा पत्रकारले पनि उजागर गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै प्रदेश पत्रकार महासंघका अध्यक्ष बिक्रम लुइँटेलले पत्रकार महासंघको शुद्धीकरणकाे अभियानमा लागिने बताए ।

कार्यक्रममा पत्रकार महासंघ माेरङका अध्यक्ष बन्धु पाेखरेल प्रदेश संरचनामा यसकाे सान्दर्भिकता र औचित्यमा नै प्रश्न उठेकाे बताए । ईलाम शाखाको अध्यक्ष काेकिला ढकालले संचारकर्मी महिलाको अवस्था दयनीय रहेकाे बताइन् ।

प्रतिक्रिया