मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

विर्तामोड । झापाको विर्तामोड नगरपालिका-३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दु समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएकी हुन् ।

अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा पुर्‍याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए । हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए ।

सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए ।

जग्गादाता प्रसाईंलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उनले बताइन् । रासस

प्रतिक्रिया