कार्की र पन्तलाई खोजी पत्रकारिता पुरस्कार

काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ । १ लाख राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो ।

कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा भएको अनियमितताबारे समाचार र पन्थले कोरोना विपत्तिको समयमासमेत सांसद र उनीहरुका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए । समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानबिन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरु दशैंभत्ता फिर्ता गर्न बाध्य भएका थिए ।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येबाट कार्की र पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो । सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए । उनी हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन् ।

यस्तै गुल्मीमा जन्मिएका पन्तले रेडियोबाट पत्रकारिता सुरु गरेका हुन् र उनी अहिले लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन् । मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने छ ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।

प्रतिक्रिया