प्रदेश सरकारको तीन वर्ष: १२३ कानुनी दस्ताबेज तयार

- सुमन सुस्केरा
विराटनगर । प्रदेश १ सरकारले तेस्रो वर्ष पूरा गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो । तीन वर्षको अबधिमा तयार पारिएको हाते पुस्तिका सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारले तीन बर्षको अबधिमा गरेको कामहरुको फेहरिस्त सहितको विवरण हाते पुस्तिकामा राखिएको छ ।
प्रदेश सरकारले आयोजना गरेको बिशेष समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोभिड-१९को प्रतिकुल अवस्थाका कारण पनि प्रदेश सरकारले नागरिकमा आशाको भाव सिर्जना गरेको बताए । नागरिकको प्रदेश सरकार साथसाथमा रहेको भन्ने स्थापित गराउनको लागि प्रदेश सरकारबाट १२३ वटा कानुनी दस्ताबेज तयार पारिनुले प्रदेश सरकार नागरिक प्रति उत्तरदायी रहेको स्पष्ट भएको उनले बताए । वित्तिय सुशासन, भ्रष्टाचारको शुन्य सहनशिलताको अभियानले प्रदेशलाई सुशासनलाई प्रदेश सरकारले अबलम्बन गरेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएका तीन बर्षमा संघीयताको मेरुदण्डको रुपमा स्थापित गराउन सफल भएको बताए । अत्यावश्यक आधार र संरचना निर्माण गर्नको लागि २ वर्ष गएको बताए । ‘अनेकन चुनौती, अप्ठेराका बिचमा हामी यहाँसम्म आएका छौँ,’ उनले भने, ‘तीन बर्ष संघीयता कार्यान्वायन गर्न आबधिक योजना निर्माणमा बितेको छ ।’ जनताको व्यापक खुसी र उत्साह प्रदेश सरकारले स्थापित गराएको उनको दाबी छ ।
अहिले शुरु भएको थिती र प्रणाली अहिलेको मात्र नभई भोलीको जग भएको स्मरण गर्दै मुख्यमन्त्री राईले तीन बर्षमा नागरिकका आशा र अपेक्षा पूरा हुन नसक्ने बताए । माग र चाहनालाई प्राथमिकीकरण गरी सिमित श्रोत र साधनबाट स्म्बोधन गर्दै अघि बढिएको उनको भनाई छ । प्रदेश सरकार नागरिकका आशा र भरोशा जगाउन सक्नु नै मुख्य प्रगतिको रुपमा लिएका छन् । उनले स्वीस सरकारबाट लिईएको १ अर्बको अनुदान सहयोग लिने प्रदेश १ सरकार नै पहिलो भएको बताए ।
प्रदेश १ मा १२३ वटा कानुन निर्माण गर्न सफल भएको बताउँदै मुख्यमन्त्री राईले बन्दा बन्दीको बेलामा किसानलाई राहत उपलब्ध गराउनुलाई पनि उपलब्धी भनेका छन् । योजनाहरु अब सिलान्यासबाट उद्घाटनको चरणमा अघि बढेको स्मरण गर्दै अहिले विकासको माध्यामबाट जनतालाई जोड्दै उज्यालो तर्फ अघि बढेको राईले सम्झिए ।
यसैबीच आजै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा यातायात व्यवस्था कार्यालयलार्य अनलाई प्रणालीको शुरुवात गरेका छन् । भिआरटिएनएस सफ्वेयर शुरु गरेको छ । यातायात क्षेत्रको व्यवस्थापन चुस्त र दुरुस्त बनाउनको लागि यातायता क्षेत्रमा अटोमेशन अभियान शुरु भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।









