देशभर प्रदर्शन गर्दै कांग्रेस, देउवा बुटवलमा

काठमाडौँ । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले आज सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै उक्त निर्णय सच्याउन माग गर्दै आएको छ । प्रदर्शनपछि हुने विरोध सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् । नेता कृष्णप्रसाद सिटौलाले झापा, प्रकाशमान सिंहले पोखरा, डा. शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा. मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रेको सभालाई सम्बोधन गर्ने तय भएको छ ।

यसैयरी प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेखको विरोध सभालाई सम्बोधन गर्ने छन् । कांग्रेसले पुस ५ पछि सरकारका कदमविरूद्ध आन्दोलन गरिरहेको छ । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।

प्रतिक्रिया