‘नेकपाकाे विवाद समाधान नभइ निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन’

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले नेकपाकाे विभाजनसम्बन्धि विवाद समाधान नभएसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने जनाएको छ । निर्वाचन आचारसंहिताका विषयमा निर्वाचन आयोगले गरेको छलफलमा नेकपाका नेता लिलामणी पोखरेलले नेकपा विवाद समाधान नभएसम्म निर्वाचन प्रक्रिया सुरु गर्ने आधार नै नभएको जिकिर गरेका हुन् ।
छलफलपछि नेता पोखरेलले ६४ प्रतिशत मत प्राप्त गरेको दलको समस्याको हल नगरी कसरी निर्वाचन तयारी गर्न सक्नुहुन्छ ? भन्ने धारणा राखेको जानकारी दिए । पोखरेलले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला पछि मात्रै प्रक्रिया अघि बढ्नुपर्ने बताएको जानकारी दिए । पुस ५ पछिका दुवै पक्षका निर्णय आयोगले अस्वीकार गरेपछि थप प्रष्ट पार्दै बुझाएको जवाफको अभिलेखिकरण नै नगरिएको उनले बताए ।
आयोगले नेकपा पार्टी एकताको समयमा भएको सहमति अनुरुपको ४ सय ४१ जना सदस्यलाई मान्यता दिने र अरु निर्णयलाई मान्यता दिन सकिने बताएको तर केपी ओलीलाई अध्यक्षबाट हटाएको अभिलेखिकरण गर्न भनि पत्र आयोगलाई पठाएपनि त्यसको जवाफ आयोगले नदिएको बताए ।








