म्यानचेस्टर सिटीको जित, टोटनह्याम र लिभरपुल स्तब्ध

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटीले बलियो टोली टोटनह्याममाथि फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३–० ले स्तब्ध पारेको हो ।
घरेलु मैदानमा टोटनह्यामलाई हराउने क्रममा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै २३औँ मिनेटमा रोड्रीले गोल गरी सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्य २ गोल गुण्डोगानले ५०औँ र ६६ औँ मिनेटमा गरेका हुन् ।
२३ खेलबाट म्यानचेस्टर सिटीले ५३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको २४ खेलबाट ४६ अंक छ । २३ खेलबाट ३६ अंक रहेको टोटनह्याम ९औँ स्थानमा झरेको छ । सुरुमा शीर्ष स्थानमा रहेको टोटनह्यामले लगातार खराब नतिजा निकाल्दा सिटी शीर्षको होडमा बलियो बन्दै गएको छ ।
गएराति नै भएको खेलमा लेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराउन सफल भएको छ । लेस्टर सिटीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता बनाए पनि लभिरपुल ३–१ ले पराजित भएको हो ।








