रेडियोको सङ्गत

– रुपेश श्रेष्ठ

रेडियोमा काम गर्न थालेपछि पहिलो पटक २ मिनेटभन्दा पनि कम समय बोलेर घर फर्केको दिन हजुरबुबाले प्रतिक्रियास्वरुप भन्नुभयो, ‘अरु कुरा राम्रै छ, बोल्दा ह्रस्व दीर्घ मिलाएर बोलेस् ।’

म बबुरो छक्कै परेँ। हजुरबुबाले मैले बोल्दा ह्रस्व दीर्घ मिल्यो मिलेन, कसरी छुट्याउनुभयो होला ! ‘थाहा भइहाल्छ नि’ भन्दै उहाँले स्पष्ट उच्चारण भएका केही प्रवचकको नाम लिनुभयो, जसलाई म चिन्दिनँ थिए। रेडियोमा त्यतिसम्म भाषा मिलाएर बोल्छन्-बोल्दैनन् भन्ने न मैले कहिल्यै याद गरेको थिएँ, न त्यसरी केलाउनै सक्थेँ।

५०-५१ तिर हुनुपर्छ बुबाले घरमा रेडियो ल्याउनुभयो। त्यो क्यासेट चक्कासमेत बजाउन मिल्ने प्यानासोनिक लेखिएको रेडियो थियो । बुबाको एक महिनाको तलबभन्दा बढी पैसा परेको भन्नेजस्तो बुझेको थिएँ। हेर्दा पनि अरुको घरमा भएकाभन्दा अलि आधुनिकजस्तो हो भन्ने मलाई लागेको थियो। अहिले हिसाब गर्दा चाल पाएँ, घरमा रेडियोभन्दा टिभी पहिले आएको रहेछ। मलाई लाग्छ, ४८-४९ तिरै बुबाले नाम ‘रेन्बो’ भए पनि श्याम श्वेत टिभी ल्याउनुभएको हो ।

मैले रेडियो सुन्ने भनेकै गीत सुन्नका लागि थियो । मेरा लागि प्रस्तोताहरुले बिचबिचमा गीत बजाउने नभएर गीतका बिचबिचमा प्रस्तोताहरु बोल्थे । बिस्तारै बोल्नेहरुका कुरा पनि सुन्न थालियो । बुबालाई समाचार र कार्यक्रमहरु सुन्नु थियो होला। रु दिन हामी दुई दाजुभाइ (बहिनी अलिक सानै थिई ) का लागि वर्जित प्राय: भए पनि शनिवार र बिदाका अरु दिनहरुमा रेडियोमा हाम्रो मस्ती हुन्थ्यो । बिदाका  दिन धेरै सुन्ने भएकैले होला, आज पनि कतै नारायण गोपालका गीत बजेको सुन्दा शनिवारीय भाव उत्पन्न हुन्छ अनि रेडियो भन्ने बित्तिकै पाण्डव सुनुवारको याद आउँछ जसले कार्यक्रममा फोन गर्ने श्रोतासँग कुरा गर्दागर्दै म देश घुम्थेँ ।

साँझ बुबाले ‘घटना र विचार’ सुन्दा अनौठो भाव पैदा हुन्थ्यो, देशमा सधैं तनावै मात्र चलिरहेजस्तो लाग्थ्यो। विषय त उतिसारो बुझ्दिनँ थिएँ, त्यसमा बोल्नेहरुको शैली र कार्यक्रमको धुनले नै अत्यासजस्तो लाग्ने । नाटक र रुपक दिन सम्झेर पर्खेरै सुन्ने बानी परेको। अझ दशैंका बेला त महिषासुर हाँस्ने नाटक सुन्नुपर्ने । हामीले रेडियो घन्काएको देखेर हजुरबुबा चाहिँ ‘पढ्नुवर्नु छैन?’ भनेर गाली गर्नुहुन्थ्यो।

रेडियो सेटसँगै बुबाले हिन्दी गीतहरुको दुइटा क्यासेट चक्का पनि ल्याउनुभएको थियो, रफीका गीत भएको। सुनेर सबै गीत कण्ठ पारियो, अहिले कुनै याद चाहिँ छैन केहीको स्थायी बाहेक । पछि थाहा भयो, ती त रफीका आफ्नै स्वर नभएर अरु नै कभर गायकका स्वर रहेछन् । ती क्यासेट चक्काका रिल आमाले उहिल्यै धान खेतमा चरा धपाउन बाँधिसक्नुभयो।

अलि समयपछि हामीले रेडियोका बहु उपयोगिता पत्ता लगायौं। आफूले बोलेका कुरा मात्र होइन, त्यसले त बजिरहेको कार्यक्रम र गीत पनि रेकर्ड गर्न सक्ने रहेछ । दाजुभाइ मिलेर बजारबाट खाली क्यासेट किनेर ल्यायौं र मनपर्दो गीत बज्नेवित्तिकै रेकर्ड गर्न थाल्यौं। यसो गर्दा धेरै थोरै गीतका मात्रै स्थायीसहित रेकर्ड हुन पाउँथे, कतिका त अन्तरामात्रै रेकर्ड गर्न भ्याइन्थ्यो । कुनै कुनै त प्रस्तोताको आवाजसहित रेकर्ड हुन्थे । कुनै दिन दिउँसो शास्त्रीय कार्यक्रम बजेर हैरान भएका बेला त्यही क्यासेट ओल्टाइ पल्टाइ सुनिन्थ्यो। एउटा चक्कामा कति नै रेकर्ड हुन सक्थ्यो र… ? केही समयपछि त्यसैमाथि अरु नयाँ रेकर्डिङ हुन्थे । कहिलेकाहीँ आफैं गाएर रेकर्ड हानिन्थ्यो र एक अर्कोलाई सुनाइन्थ्यो। त्यो गजबको रमाइलो हुन्थ्यो। आफ्नै आवाज रेडियोमा सुनाउँदा ठूलै सफलता मिलेजस्तो। ती चक्का पनि आज घरमा छैनन्। भए पनि बजाउने के मा ? त्यो रेडियो सेट कहिले हो कहिले, कवाडीलाई बेचियो।

पछि स्कुल हुँदै कुनै समय सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियो घुम्ने मौका मिल्यो। आजभोलिका चल्तीका म्युजिक भिडियो निर्देशक नितिन चन्द र म कविता बोकेर रेडियो नेपालको बाल कार्यक्रममा सुनाउन भनेर गएका थियौं। त्यहाँ पुगेपछि थाहा भयो, इत्रो बट्टाजस्तो रेडियो सेटमा जून कुरा सुनिन्छ, त्यसका लागि त्यत्रो भव्य स्टुडियो र भवनहरु रहेछन् । त्यही बेला हो पहिलो पटक रेडियोमा ‘आओ मेरा प्यारा प्यारा भाइबहिनीहरु, रेडियो नजिक आओ’ भन्ने वासुदेव मुनाल दाइसँग भेटेको । उसै त बल्ड्याँग्रे आँखा भएका वासुदेव दाइ, त्यसमाथि ‘तँ पनि कविता सुनाउने हो?’ भनेर उहाँले माइक्रोफोन अगाडि उभ्याउँदा सातो उडेर सिंहदरबारबाट एकै चोटि घर पुगेको थियो ।

पछि उहाँसँग एउटा बाल क्लबमा निकै भेट भयो, प्यारा दाइका रुपमा । उहाँ हामीलाई मञ्च उद्घोषण, रेडियोमा बोल्ने तरिका, त्यसका लागि चाहिने लेख्ने सीप र अरु कुरा सिकाउन आउनुहुन्थ्यो। स्कुले  उमेरमै उहाँसँग रेडियो पत्रकारिताबारे सिक्न पाइयो। त्यो बेला बल्ल थाहा पाइयो, रेडियोमा बोल्न कत्रो कसरत लगाउन पर्ने रहेछ । ३ मिनेटको रिपोर्ट बनाउन ५-६ दिनको तालिमको आधा अवधि त हामी पेन, डायरी र रेकर्डर बोकेर टोल टोल घुमेका थियौं। रेकर्डर बोक्न भने समूहमा हानथापै हुन्थ्यो। तर महँगो रेकर्डर हामीभन्दा ठूला दाइ दिदीले कमै छुन दिन्थे । यो सायद ७-८ कक्षामा पढ्दाको कुरा ।

म सम्झिन्छु, दाइले क्याम्पस पढ्दै गर्दा पुतलीसडकमा रेडियो उद्घोषण तालिममा भर्ना पाए । तालिम लिँदा रेकर्डर किन्नुपर्ने भयो। खुत्रुके फुटाएर ३ सय रुपैयाँमा दाइले वाक मेन भनिने चाइनिज रेकर्डर किने जसमा रेडियो बज्दैनथ्यो। बिहान दाइ इन्स्टिच्युटमा तालिम लिन जान्थे, साँझ घरमा हामी तालिम लिन्थ्यौं। हाम्रो कोठे रेडियोको प्रसारण पनि हुन्थ्यो। साँझमा दाजुभाइ र बहिनी मिलेर किताब पढेर रेकर्ड गर्ने, अन्तर्वार्ता लिएको नाटक गर्ने, समाचार पढेर रेकर्ड गर्ने। अनि सुनेर आफैँ दँग पर्ने । बुबाआमालाई भने छोराछोरी मिलेर पढाइ गर्दै छन् भन्ने लाग्दो हो।

त्योभन्दा अघि नै एफएम युग सुरु भइसकेको थियो । पप गीत धेरै बज्ने र अंग्रेजी भाषा घुसाउँदै बोल्ने नयाँ शैलीका प्रस्तोताहरु बोल्ने एफएम रेडियोहरु साह्रै लोकप्रिय  भए । तर घरको रेडियोमा एफएम बजेन, एफएम ब्याण्ड नै रहेनछ। २-३ सय रुपैयाँ खर्च गर्दा घरको रेडियोमा एफएम बज्ने व्यवस्था हुन सक्थ्यो तर बुबाले चासो दिनुभएन। घरको सम्पत्तिमा तलमाथि गर्ने हिम्मत हामी फुच्चे दाजुभाइको भएन । तर त्यही रेडियोमा बजेका गीत, क्यासेटमा रेकर्ड गरेर नाच्दै गाउँदै मेरा दाई कलाकार भए तर फर्केर फेरि आजभोलि टिभीमै बोल्छन्। रेडियोमा बोल्ने वा काम गर्ने भन्ने कुनै सपना वा परिपक्व सोच नै नबन्दै म आफू पनि रेडियोमा काम गर्न पुगेँ, ५ वर्ष जति रेडियोमा बिताएर टिभीमा हामफालें । १० वर्ष जति रेडियोमा काम गरेपछि बहिनीको भने सञ्चार कर्मप्रतिको मोहभंग भयो।

सिंहदबारबाटै १०० मेगाहर्जमा प्रसारण हुने क्लासिक एफएममा काम गर्न थालेदेखि नै मैले उति बेलाका रेडियोका हस्तीहरुसँगै समाचार भन्ने काम पाएँ। पछि फरक फरक प्रकारका थुप्रै कार्यक्रम पनि चलाएँ। धेरै श्रोताले मेरो काम मन पराएको पनि बताउँथे, कम्ति फुरुक्क परिएन । टेलिभिजनमा यत्रो समय बिताउँदा पनि म रेडियोका दिनहरु सम्झेर ‘नोस्टाल्जिक’ हुन्छु । सन्दर्भ मिल्यो र कुनै रेडियोको स्टुडियो पस्न पाइयो भने हेडफोन लगाएर बोल्न मन लागिहाल्छ। र हरेक पटक बोल्दा हजुरबुबाले भनेजस्तो ह्रस्व दीर्घ मिलाएर बोल्ने प्रयास गर्छु। मिल्यो कि मिलेन भनिदिने हजुरबुबा अचेल न रेडियो सुन्नुहुन्छ र न टिभी हेर्नुहुन्छ । उहाँलाई अहिले पनि रेडियो-टिभीले मान्छे बिगार्छ भन्ने लाग्दो हो ।

@roopess

प्रतिक्रिया