‘युद्धकालका अर्बौं रकमको हिसाबकिताब हुन्छ’

बुटवल । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले जनयुद्धकालका अर्बौं रकमको हिसाबकिताब गर्ने बेला आएको बताएका छन् । शनिबार बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीसमेत रहेको रायमाझीले उक्त प्रश्नको जवाफ विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुपर्ने पनि बताएका छन् । ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ?’, रायमाझीले भनेका छन, ‘हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ । तर, सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो ?’
यस्तै रायमाझीले प्रचण्ड र माधवकुमार नेपालले बाटो बिराएकोसमेत बताएका छन् । ‘उहाँ (दाहाल–नेपाल) हरुले उट्पट्याङ् गरिरहनुभएको छ’, रायमाझीले भनेका छन्, ‘पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ? उाँहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो ।’








