‘ओलीहरुले शहीदका सपना दबाउने कोशिश गरे’

काठमाडौँ । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीहरुले शहीदका सपनालाई दबाउन खोजेको बताएका छन् । शनिबार (१ फागुन) जनयुद्ध दिवसको अवसर पारेर राखिएको शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई काठमाडौँबाट सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
आजको दिन जरुरी परे पुनः बलिदानी दिन तयार छु भनेर सोच्नुपर्ने दिन भएको बताउँदै दाहालले भनेका छन्, ‘शहीदहरु कहिल्यै मर्ने छैनन् । तर, केपी ओलीहरुले शहीदहरुका सपनालाई दबाउने कोशिश गरिरहेका छन् ।’
यसैबीच दाहालले काल मार्स्कको शहीदप्रतिको दर्शन सुनाउँदै भनेका छन्, ‘केही समय कुनै पुस्ताले शहीदलाई नसम्झेपनि पुनः त्यसपछिको पुस्ताले उनीहरुको योगदानको बारेमा, बलिदानीको बारेमा खोज्छन् खोज्छन् । काल मार्स्कले भनेका छन् इतिहासमा सामाजिक प्रगतिको लागि बलिदान गरेका शहीदहरुलाई केही समय सत्ताले दबाइदिन्छ । तर, पुनः आउने पुस्ताले ती सम्पूर्ण शहीदहरुलाई खोज्नेछ, उनीहरुले चिहान खनेरै भए पनि कंकाल निकाल्छन् । यहाँ यस्तै भएको छ । एउटा पुस्ताले शहीदका सपनालाई दबाउन खोजेपनि अबको पुस्ताले खोज्नेछन् । कंकाल नै भए पनि खोज्नेछन्, निकाल्नेछन् ।’
अहिले इतिहासमाथि प्रहार भएको दृष्टान्त सुनाउँदै दाहालले भनेका छन् ‘केपी ओलीहरुले शहीदको सपनालाई दबाउने सोच बनाएका छन् भने त्यो सबैभन्दा ठूलो भूल हुनेछ । अहिले सच्चिन ठीक हुन्छ ।’
दाहाल हिजोको १० वर्षे सशस्त्र जनआन्दोलनको सुप्रिम कमाण्डरसमेत हुन् । उनकै नेतृत्वमा उक्त युद्ध अन्त्य भएको थियो ।








