दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा

काठमाडौँ  ‘फोन पे जनकपुर साहित्य महोत्सव’को दोश्रो संस्करण जनकपुरमा हुने भएको छ । आयोजक संस्ठा नव मिथिला फाउन्डेसन र सह-आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

फागुन १९ देखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा हुने सो महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् भने १५ जना सहजकर्ताले प्रश्न सोध्‍ने भएका छन् ।

‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ’, घोषणा सभाको उद्घाटन गर्दै प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले भने,’जनक, जानकी, याग्यवल्क्य र विद्यापतिको शहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ ।’

साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य-पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । उनले भने,’सामाजिक मूल्य-मान्यता र नैतिकता हराउँदै गैरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्‍न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देषको पठन संस्कृतिमा केही योगदान दिनेछ ।’

प्रतिक्रिया