झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेसकाे माग

काठमाडाैं । नेपाली कांग्रेसले नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै झाँक्रीलाई रिहा गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा संयम अभिव्यक्तिका लागि सबैलाई आग्रह पनि गरिएको छ । ‘संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरिलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौँ।’
पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र ब्यवहारको शृङ्खलाप्रति कांग्रेसले गहिरो चिन्ता समेत प्रकट गरेको छ । खासगरि नेकपाका दुई समुहको नेतृत्व पंक्तिबाट ब्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै नभएको भन्दै कांग्रेसले अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्ति जो जसबाट प्रकट भएका भएपनि ती आलोच्य हुने बताएको छ ।
यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव पार्नुका साथै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्ने भएकाले संयमपूर्वक यसको समाधान पहिल्याउन कांग्रेसले अपिल गरेको छ ।








