कोरोनाकाे खोप शिक्षकलाई पनि लगाउन अनुराेध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ ।सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरिएकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न सवास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको हाे । मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ–मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

पत्राचारपछि स्वाथ्य मन्त्रालयले थप प्रकृया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए।

यसअघि शिक्षक महासंघ,नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतका सरोकारवाला निकायले लाखौ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउदै शिक्षा मन्त्री  श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

शिक्षक महासंघका अध्यक्ष बावुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरिसक्नुभएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।

शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङक संकलन गरिसकेको छ ।

सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शु्रु गरिसकेको छ । यही माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट शुरु भएको छ ।

प्रतिक्रिया