बाझाबाझको पनि ‘स्तर’ हुन्छ नि !

काठमाडौं । संसद विघटन र नेकपा विभाजनपछि धेरै कुरा चर्चा, विवाद र बहशमा छन् । त्यसैमध्येको एक हो नेकपाका शिर्ष नेताहरुको बोलीको छुद्रपन अर्थात बाझाबाझकाे स्तर ।
भनिन्छ जिब्राेकाे गरिमा मीठाे बाेलिमा । तर, शिर्ष नेताहरुकाे बाेली र गाली सुन्दा लाग्छ जिब्राेकाे गरिमा मीठाे हाेइन छुद्र बाेलिमा पाे छ !
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका जोर पाइलट केपी ओली र पुष्पकमल दाहाल मात्र होइन बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललगायतको पछिल्लो बोलीको स्तर हेर्दा उनीहरु कुनै समयका र बहालवाला प्रधानमन्त्री हुन् भन्ने पत्याउनै मुश्किल पर्छ ।
उनीहरु एकअर्काप्रति यसरी प्रस्तुत भइरहेका छन् कि मानौँ, उनीहरुले अब कहिल्यै एकअर्कालाई भेट्न पर्दैन । दिनहुँजसोका सभा र सम्मेलनमा मञ्चबाटै उनिहरुले गर्ने ‘बाझाबाझको स्तर’ हेर्दा र सुन्दा लाग्छ उनीहरुले यतिका समय एकै पार्टीमा कसरि बसेका थिए होलान् ? अथवा भाेली फेरि एकै पार्टी बनाए के भनेर एक अर्काकाे मुख हेर्दा हुन् । उसाे त कम्युनिष्ट पार्टीहरुभित्र ‘मन मिलुन्जेल चाटाचाट नमिलेपछि काटाकाट’ काे शैली नयाँ भने हाेइन ।
दुईबाट एउटै दलको अध्यक्ष बनेका ओली र दाहालबीचको सम्बन्ध शुरुको केही समय ठीकै देखिएपनि त्यसपछि सम्बन्धमा उतारचढाब शुरु भएको थियो । कतिपयले ब्यक्तित्वको टकराव भनेर समेत टिप्पणी गर्ने गरेको एकै दलका दुई ‘पाइलट’बिचको सम्बन्ध ‘लुकिङ् लण्डन, टकिङ् टोकियो’ मतलब लण्डनतिर हेरेर टोकियोमा कुराकानी गर्ने जस्तो खालको पनि थियो ।
तर जब नेकपा स्पष्ट दुई ध्रुवमा विभाजित भयो, त्यसपछि दुवै अध्यक्ष एकअर्काको अनुहारै हेर्न नपरे हुन्थ्यो भन्ने अवस्थामा झरे । मन नपरेको मान्छे हिंडेको बाटो नै गन्हाउँछ भनेजस्तो उनीहरु एकले अर्कालाई छि छि र दुर दुर गर्न थाले । आफु असल र अर्को खराब रहेको देखाउन उनीहरुले यति तल्लोस्तरको गाली गलौजमा झरे कि त्यस्ले गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखानको सम्झना गराइरहेको छ ।
जिम्मेवारीले प्रधानमन्त्री समेत बनिसकेका, उमेरले ७० नाघेका यी नेताहरुको बोल्ने ‘सोमत’ आम नागरिकको कानै बिझाउने मात्र होइन ‘छ्या यस्तो के बोलेको होला’ भन्ने तहको छ । यो तहमा नझर्न उनीहरुका शुभचिन्तकले सुझाव दिनुपर्ने हो तर त्यसो गर्न सकेको देखिँदैन । उनीहरु यसो गर्नुको साटो बरु सिट्टी र थपडी बजाएर शिर्ष नेतालाई एकअर्काबिरुद्ध अझै जाइलाग्न हौस्याइरहेका पो भेटिन्छन् ।
एउटा जमाना थियो, जतिबेला दाहालले ओलीलाई ‘फासिस्ट’ मात्रै देख्दैनथे, सार्वजनिक सभा–सम्मेलनमा कडा आलोचनासमेत गर्थे । दाहालमाथि ओली पनि उसैगरी खनिन्थे ।दाहालले नेतृत्व गरेका १० वर्षे विद्रोहका कट्टर आलोचक हुन्।
तर, राजनीतिमा कोही स्थायी मित्रु र स्थायी सत्रु हुँदैन भनिए झैँ उनीहरुले सबैलाई चकित बनाउँदै गठजोड गरे । पूर्व माओवादी र पूर्व एमालेको धङधङी पूरापूर रुपमा नगए पनि केही समयकै लागि भए पनि आम मानसपटलमा नेकपाले पनि केही स्थान भने अवश्य बनायो । नेकपा बनेपछिको केही समय शर्मैले भएपनि केही समय एकअर्काको समर्थक जस्तो देखिएका ओली–दाहाल अन्ततोगत्वा फेरि बाझाबाझकै अवस्थाबाट गुज्रिन पुगेका छन् ।
करिब दुई महिनायता वान् टू वान् भेट्न बिर्सिएका ओली–दाहाल अहिले बालुवाटार र खुमलटारमै एकअर्कालाई राजनीतिक रुपमा सख्त घाइते बनाउन मात्र होइन उठ्नै नसक्ने गरि लडाउने रणनीति बुन्दै गरेका हुन्छन् । समानान्तर सभा, सम्मेलनमासमेत उतिकै मात्रामा भेट्टाइन्छ ।
नेकपा विभाजनको सन्दर्भ, कुन पक्ष आधिकारिक हो भन्ने विवाद, संसद विघटन जायज कि नाजायज भन्ने गम्भिर कानूनी र संवैधानिक बहशका विषयमा उनीहरु खासै जान चाहँदैनन् बरु एकले अर्कोलाई सत्तोसराप गर्ने कुरामा भने पाखुरा सुर्केरै लागेका छन् ।
उनीहरुका भाषणमा सुन्न पाइने भनेको तर्क होइन सिर्फ एकअर्कालाई खिसिट्युरी आरोपप्रत्यारोप र कटाक्षहरु नै हुन् । अझ पछिल्लो समयको उनीहरुको बहकाउ हेर्दा यस्तो लाग्छ मानौँ, उनीहरु आफ्नो प्रमुख शत्रुको रुपमै एकअर्कालाई देख्छन् ।
तर, ओली–दाहालबीच यसो हुनुको मानक के हो ? उनीहरुबीच झाँगिएको रिस र आक्रोशको यो स्तरले के कुराको संकेत गर्छ त ? के आरोप–प्रत्यारोपबिनाको राजनीति हुँदैन ? यसको पनि कुनै सिमा र मर्यादा हुन्छ कि हुँदैन ? राजनीतिमा नैतिकता र मर्यादा हुन्छ कि हुँदैन ? नागरिकका मनमा यस्ता बग्रेल्ती अनुत्तरित प्रश्नहरु छन् ।
राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतम भने ओली–दाहालबीच यस्तो कटुतापूर्ण सम्बन्ध बन्नुको पछाडि व्यक्तिगत रिसइबी मुख्य कारण देख्छन् । राजनीतिक विषयवस्तुले बढाएको व्यक्तिगत रिसइबीका कारण उनीहरुबीच यस्तो सम्बन्ध बनेको विश्लेषण गरेका गौतमले भने, ‘जनतालाई एउटा सन्देश पनि दिनु थियो उनीहरुलाई । एकता भयो भनियो भने बढी मत परिचालित होइन्छ भन्ने पनि भयो । र, एक हदसम्म भयो पनि त्यस्तै । तर अहिले आएर त्यस्तो भएन । त्यसपछि व्यक्तिगत कमी कमजोरी कोट्याउन थालियो । जसले अहिलेजस्तो सम्बन्ध बन्यो ।’ गौतमको विश्लेषण यो पनि छ कि– ‘व्यक्तिगत रिसइबीकै कारण संसद् भंग भएको हो ।’ उनी थप्छन् ‘ओलीजीलाई लागेको थियो दाहाल यतिकै स्टेकहोल्डर बनेर आउँदैनन् भनेर तर दाहाल पनि स्ट्रन्थ्फूल नै बनेर आए । यी सबै कारणले गर्दा नै ओली–दाहालबीच यस्तो सम्बन्ध बन्यो ।’
अहिलेको अवस्थामा ऊभन्दा म बढी आधिकारिक र सक्कली हुँ भन्ने देखाउनुपर्ने पनि होला तर यसो हुँदै गर्दा पनि अर्कोलाई कमसल देखाउन कुन तहमा झर्ने कि नझर्ने भन्ने एउटा मानक त अबश्य हुँदो हो । दुवैजना देशको राजनीतिका शिर्ष पात्र मात्र होइनन् प्रधानमन्त्री भइसकेका र भइरहेका ब्यक्तित्व पनि हुन् ।
उनीहरुले यत्ति ख्याल गरे हुने हाे कि, उनीहरुको शैली, तर्क र बहसको स्तरले नै आम नागरिकले उनीहरुलाई नै हेर्ने र बुझ्ने धारणा तय गर्ने हो ।








