‘शिक्षक सेवा आयोगमा एकरुपता हुनुपर्छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मूल दायित्व आयोगको रहेको भन्दै सक्षम कर्मचारीको आवश्यकता रहेको औँल्याए ।

यस्तै, मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा एकरुपता ल्याउनुपर्ने धारणा राखेका छन् । उनले परम्परागत शिक्षा नीति, अस्थिरता, अराजकता, अन्योल र भ्रमको बादलभित्र सबै मडारिएको अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्न आयोगले मुख्य भूमिका खेल्नुपर्ने बताए । उनले मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, ईसीडी, स्वयंसेवक शिक्षक, द्वन्द्वपीडित शिक्षकको समस्या थपिएकाले यी सबै समस्याको एकमुष्‍ट समाधान खोज्नुपर्ने बताए । आयोगलाई प्रविधिमैत्री बनाउन पनि उनले जोड दिए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षण पेसालाई जीवनको पहिलो रोजाइ बनाउनुपर्ने बताए । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्दै उनले कक्षामा दिने प्रस्तुति महत्त्वपूर्ण हु्ने औंल्याए । उनले आयोगमा पाठ्यक्रम र दरबन्दीको तालमेल आवश्यक रहेको पनि बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउँदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको जानकारी दिए ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आयोगलाई स्वतन्त्र र स्वायत्त निकायको रुपमा लैजानुपर्ने धारणा राखे । उनले कोरोनाको महामारीमा देशमा रहेका चार लाख शिक्षक र ८० लाख विद्यार्थी रहेकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपको तत्काल व्यवस्था गर्नुपर्ने माग राखेका थिए । कार्यक्रममा आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले आयोगको विगत, वर्तमान र भावी योजना एवं चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया