‘पृथ्वीनारायणलाई मात्रै होइन, कालु पाँडे र बिसे नगर्चीलाई पनि सम्झिनुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडे र बिसे नगर्चीलाई पनि भुल्न नहुने बताएका छन् । आइतबार नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

एकीकरणकर्ता पृथ्वीनारायण शाहको चर्चा गर्दा नेपाल जोगाउन ठूलो योगदान गर्ने कालु पाँडे, बिसे नगर्चीलगायतलाई पनि भुल्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले इतिहासमा योगदान दिने कसैलाई पनि भुल्न नहुने बताएका हुन् । ‘कसैका सन्तान–दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुने, त्यसरी इन्साफ हुँदैन’, प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भनेका छन्, ‘बिनाभेदभाव महान् पूर्वजहरुको स्मरण गर्नुपर्छ । बिसे नगर्चीसमेत धन्यवादका पात्र छन् । यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई पनि धन्यवाद छ ।’

यसैबीच प्रधानमन्त्री ओलीले अमरसिंह थापाले ७४ वर्षमा तरवार उठाएको स्मरणसमेत गरे । भीमसेन थापासमेत इतिहासका महान् देशभक्त रहेको बताउँदै ओलीले भनेका छन्, ‘हाम्रो इतिहासका महान देशभक्त हुन् भीमसेन थापा । उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन् । उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो । बुटबलमा हारेको भए भीमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो । पाल्पा टिकाउन गाह्रो हुन्थ्यो ।’

यसैबीच प्रधानमन्त्री ओलीले इतिहासमा पूर्खाले लडाइँ लडेका किल्लाहरुको संरक्षण गर्नु अबको पुस्ताको जिम्मेवारी भएको पनि बताए ।

प्रतिक्रिया