सत्तापक्षकै सांसदद्वारा प्रदेश सभा बैठक अवरुद्ध

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश नं. १ को सातौं अधिवेशनको दोस्रो बैठक सत्तापक्षकै सांसदले अबरुद्ध छन् । बैठक शुरु हुन नपाउँदै सत्तापक्ष (ओली समूह)का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर संसद् अबरुद्ध गरेका थिए । दलको नेताको हैसियतले मुख्यमन्त्री शेरधन राईले कारबाही गरेको १६ जना सांसद बैठकमा सहभागी भएको भन्दै राजभण्डारीसहितका सांसदले संसद् अबरुद्ध गरेका हुन् ।

संसद् अबरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक आगामी फागुन ९ गते दिउँसो २ बजेसम्मकालागि स्थगित गरे । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओली समूहका सांसद तथा नेकपाका प्रमुख सचेतक राजभण्डारीले कारबाहीमा परेका सांसदका् प्रदेश सभामा प्रवेश रोकिएपछि मात्र सदन चल्ने बताए ।

यता दाहाल–नेपाल समूहका नेताहरुले भने १८ दिनसम्म आफूहरुसँग कुनै सहमति नगरेको बताएका छन् । ओली समूह सत्ता लम्ब्याउने दाउमा रहेकोले अविश्वासको प्रस्ताव टेबुल हुने कार्यसूची आएपछि त्यसो गर्न नदिएर सदन अबरुद्ध गरेको दाहाल–नेपाल समूहका नेता इन्द्र आङ्बोले बताए ।

सभामुख भण्डारीप्रति आक्रोश व्यक्त गर्दै आङ्बोले आफूहरुसँग कुनै परामर्श नै नगरी फागुन ९ गतेलाई बैठक स्थगित गर्नु गलत भएको बताए । ‘भोलिपर्सि नै संसद् बैठक बोलाउन हामी सभामुखलाई आग्रह गर्नेछौँ, आङ्बोले भने, ‘के आधारमा सभामुखले यस्तो निर्णय गर्नुभएको हो, त्यो बारेमा खोज्नेछौँ ।’

प्रदेश सभा शुरु हुनपूर्व नेकपाको बिवादका कारण कार्यब्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बसेको थियो । बैठकमा नेकपाका दुई नेताबीच कुरा नमिल्दा समस्या देखिएको हो ।

बैठकमा प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने कार्यसूची रहेपनि कार्यसूचीमा प्रवेश नै हुन नदिइ सदन अबरुद्ध भएपछि बैठक आगामी फागुन ९ गतेसम्मलाई स्थगित भएको हो । ओली समूहका नेताहरुले भने आगामी फागुन ८ गतेसम्ममा सबै सहमतिको प्रयास गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया