ओली प्रतिगमन सुनौलो अवसर हुनसक्छ : बाबुराम

काठमाडौँ । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमन सुनौलो अवसर हुनसक्ने बताएका छन् । प्रत्येक संकटले अवसर लिएर आउने भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको भट्टराईले ओली प्रतिगमन पनि नेतृत्व निर्माणको सुनौलो अवसर हुनसक्ने बताएका हुन् ।
बिहान ट्वीट गर्दै उनले २००७, ०४६/०४७ र ०६२/०६४ ले नयाँ नेतृत्व जन्माएको बताए । अब ०७७/७८ ले पनि नयाँ नेतृत्व जन्माउने भन्दै उनले ओलीको कदमविरुद्ध एकजुट हुन आह्वान गरे ।
‘भनिन्छ- प्रत्येक संकटले अवसर लिएर आउँछ । अहिलेको ओली-विद्या प्रतिगमन नयाँ विचार, नीति र नेतृत्व निर्माणको सुनौलो अवसर हुनसक्छ,’ भट्टराईले अगाडि भनेका छन्, ‘००७ ले वीपी र पुष्पलाल जन्मायो, ०४६/०४७ ले मदन, माधव, शेर र रामचन्द्र जन्मायो, जनयुद्ध र ०६२/०६४ले प्रचण्ड, बाबुराम र उपेन्द्र जन्मायो ।०७७/७८ ले पनि नयाँ जन्माउनेछ ! लगे रहो !’
भनिन्छ-प्रत्येक संकटले अवसर लिएर आउॅछ।अहिलेको ओली-विद्या प्रतिगमन नयाॅ विचार/नीति/नेतृत्व निर्माणको सुनौलो अवसर हुनसक्छ। ००७ ले बिपी/पुष्पलाल जन्मायो;०४६/०४७ले मदन/माधव/शेर/रामचन्द्र जन्मायो;जनयुद्ध र ०६२-०६४ले प्रचण्ड/बाबुराम/उपेन्द्र जन्मायो।०७७/७८ले पनि नयाॅ जन्माउनेछ!लगे रहो! https://t.co/aFgfH5CXSA
— Baburam Bhattarai (@brb1954) February 7, 2021
तानाशाह बन्न ओलीले संसद् विघटन गरेका हुन्
यसअघि धनकुटामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले एकपछि अर्को गैरसंवैधानिक कदम चाल्दै गएको आरोप लगाएका थिए । अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै उनले निर्वाचन भएमा २०४७ सालको संविधानअनुसार हुने भएकाले सबैले खबरदारी गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीको साथमा राजावादी मात्र रहेको कारण हिन्दु राज्य र राजतन्त्र स्थापनाको बाटो रोज्न सक्ने आशंका बढेको डा. भट्टराईले बताए । उनले प्रधानमन्त्री ओली २०१७ सालमा झै राजा महेन्द्र पथमा लागेका बताउँदै बहुला राजा भनिने रणबहादुर शाह र जंगबहादुर राणाले अपनाएको शैली अपनाएको कारण आन्दोलन जरुरी रहेको भट्टराईको दाबी छ ।








