अग्रता जोगाउन नसक्दा रोकियो म्यानचेस्टर

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड एभर्टनसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एभर्टनले खेलको अन्तिम मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३-३ गोलको बराबरीमा रोकेको हो ।
युनाइटेड ३-२ गोलले अगाडी रहेको अवस्थामा एभर्टनका डोमिनिक कल्भर्ट लेविनले खेलको ९५औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस अघि एभर्टनका लागि अबडोउलाए डोउकोउरे र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एडिसन कभानी, ब्रुनो फेर्नानडेज र स्कट म्याकटोमीनीले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २३ खेलमा ४५ अंक भएको छ भने लिगमा दोस्रो स्थानमा कायम नै छ । त्यस्तै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४७ अंक रहेको छ । त्यस्तै एभर्टनको २१ खेलमा ३७ अंक रहेको र लिगमा छैठौं स्थानमा छ ।








