धरानका किरण दुवाथलन च्याम्पियन

काठमाडौं । सुनसरीकाे धरानका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । २५ सय मिटर दौड, १० किलोमिटर साईक्लिङ्ग र १३ सय मिटर दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन बनेका हुन् ।

लिम्बुले पुरा गरेको समय अहिलेसम्मकै छाेटो समय हो । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ मिनेट ४० सेकेण्डमा र दोस्रो संस्करणमा अच्युतकृष्ण खरेलले ३७ मिनटे २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए ।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको आयोजनामा भएको सिरिजमा महिलातर्फ बिदिशा चौधरी निर्धारित दूरी ४९ मिनट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भईन् । दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पुरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागेकी थिईन् ।
लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुषतर्फ सुरजकुमार पासवान दोस्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनेट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनेट ५६.८५ सेकेन्डमा पुरा गरे ।

दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर पाए । यस्तै बिजयी सवैले प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर पाएका थिए ।

बिजयी खेलाडीलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपकराज घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

खेलको माध्ययमबाट स्थानीय निकाय र संस्थाहरुसँग समन्वय गरि स्थानियस्तरमा नव खेलाडी उत्पादन गर्ने र खेल समुदायको निर्माण गर्दै ट्राईयाथलन खेलतर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियनसिपको पहिलो संस्करण काठमाण्डौको पुरानो सहर टोखामा र दोश्रो संस्करण कीर्तिपुरमा आयोजना भई सकेको छ ।

तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने च्याम्पियनसिपको चौथो संस्करण टोखामा र पाँचौ किर्तिपुरमा हुने छ । सिरिजको अन्तिम तथा छैटौं संस्करण पोखरामा हुने संघले जनाएको छ ।

प्रतिक्रिया