‘बन्दका पीडितहरुलाई सरकारले क्षतिपूर्ति दिन्छ’

  • धनबल राई

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको आमहड्तालका पीडितहरुलाई सरकारले क्षतिपूर्ति दिने बताएका छन् ।

शुक्रबार काठमाडौंको नारायणहिटी दरबारअगाडि आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै पोखरेलले पीडितहरुले क्षतिपूर्ति पाउने बताएका हुन् । ‘हिजो नेपाल बन्दको नाममा जनतालाई दुःख दिने काम भयो’, पोखरेलले सम्बोधनको क्रममा भनेका छन्, ‘त्यसको निन्दा र भर्त्सना गर्न चाहन्छ र सँगै म सरकारको मन्त्रीको नाताले तपाईँहरुसमक्ष भन्न चाहन्छु, हिजो आन्दोलनको नाममा अराजकता सिर्जना गर्नेहरुले श्रमजीवीहरुलाई जुन किसिमले दुःख दिए । हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो ट्याक्सी चलाएर गुजारा गर्नुभएको थियो । उहाँमाथि जुन किसिमले सांघातिक हमला गरियो । उहाँको ट्याक्सीमाथि तोडफोड गरियो । म यहाँहरुलाई भन्न चाहन्छु । केपी ओली नेतृत्वको सरकारले त्यो सम्पूर्ण क्षतिपूर्ति दिलाउनेछ र त्यो क्षतिलाई पूरताल गर्नेछ । सँगै अन्य पीडितहरुलाई पनि हामी क्षतिपूर्ति दिनेछ ।’

यसैबीच पोखरेलले ओली नेतृत्वको नेकपाको आधिकारिकतालाई कसैले पनि खोस्न नसक्ने बताए । आफू सम्बद्ध नेकपा नै आधिकारिक नेकपा भएको बताउँदै पोखरेलले भनेका छन्, ‘जहाँसम्म सूर्य चिह्नको कुरा छ । म यहाँहरुलाई भन्न चाहन्छु । केपी ओलीले नेतृत्व गरेको पार्टीले नै पाउनेछ ।’

यसअघि बिहीबार दाहाल–नेपाल नेतृत्वको नेकपाले आमहड्ताल गरेको थियो । त्यस क्रममा काठमाडौंको गोङ्गबुमा एउटा ट्याक्सी जलाइएको थियो भने दिउँसो नै अर्को एउटा ट्याक्सीमाथि आगजानी भएको भिडिओ सार्वजनिक भएको थियो । यस्तै काठमाडौं बाहिर पनि विभिन्न खाले हिंसात्मक घटनाहरु घटेका थिए ।

प्रतिक्रिया