लायन्सका पूर्व अध्यक्षहरु मिलेर बेचिएको एम्बुलेन्सको १० बर्षपछि खोजी

विराटनगर । भन्सार छुटमा ल्याएको एम्बुलेन्स लायन्सका पूर्व अध्यक्षहरुले बेचेर खाएको आरोप लागेको छ । लायन्स क्लब अफ बेलवारीका अध्यक्ष खोमप्रसाद गौतमले आज शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै भन्सार छुटमा ल्याईएको एम्बुलेन्स पुर्ब अध्यक्षहरुले बेचेर खाएको आरोप लगाएका हुन् ।

सन् २०११ मा रकम संकलन गरी राजश्व छुटमा किनेको को १ च ५७९४ नम्बरको एम्बुलेन्स त्यसपछिका अध्यक्ष तथा पदाधिकारीहरुले मिलेर बेचेको गौतमले आरोप लगाएका हुन् । गौतमले पत्रकार सम्मेलनमा लायन्स बेलबारीका तत्कालीन अध्यक्ष राजकुमार लिम्बु र तत्कालीन लेटाङ गाविस ५ का भक्तबहादुर राईबीच २०७७ बैशाख ३ गते ९ लाख २५ हजारमा एम्बुलेन्स किनबेच भएको कागजात सार्वजनिक गरे ।

कागजजातकै आधारमा बिक्री भएको एम्बुलेन्स भने लायन्सकै नाममा रहेको छ । बेलबारी लायन्स सन् २००८ नोभेम्बर ११ मा स्थापना भएको थियो । संस्थापक अध्यक्ष बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी हुन् । उनीसहितका पछिल्ला लायन्सका अध्यक्षहरु शिवप्रसाद बराल र योगेन्द्र सुबेदी पनि बिक्रीमा संलग्न रहेको गौतमको आरोप छ ।

सामाजिक गतिविधीमा क्रियाशील रहेको बेलबारी लायन्सले संविधानसभा सदस्य यशोदा अधिकारीको संसदीय विकास कोषबाट समेत एम्बुलेन्स खरिदका लागि ३ लाख रुपैयाँ सहयोग लिएको थियो । चन्दा र संसदीय विकास कोषबाट जुटेको पैसाले खरिद गरिएको एम्बुलेन्स एक बर्ष नबित्दै पुर्वअध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बनेको बिक्री समितिले बिक्री गर्ने निर्णय गरेको गौतमको भनाई छ ।

सुवेदी हाल बेलबारी नगरपालिका–३ का वडाध्यक्ष तथा नगरपालिकाको प्रवक्ता हुन् । एम्बुलेन्स बिक्रीपछि बनेका कुनैपनि समितिले एम्बुलेन्सको खोजीबिन नगरेका कारण आफुले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको अध्यक्ष गौतमले बताए । पुराना समितिहरुलाई पटक पटक एम्बुलेन्सको बारेमा जानकारी माग्दा वेवास्ता गरेको र गैरजिम्मेवार जवाफ दिँदै आएको उनले गुनासो गरे ।

लायन्सको नाममा रहेको एम्बुलेन्स सोही संस्थाको नाममा नै संचालन गर्नुपर्ने या थन्क्याएर राख्नु पर्ने उनको भनाई छ । पूर्व अध्यक्ष योगेन्द्र सुबेदीले आफू बिक्री समितिमा नभएको दाबी गरे। ‘बिक्री गर्न पाईँदैन, तर मिस्टेकले बिक्री भनेर लेखिएको हुनसक्छ, सुबेदीले भने, एम्बुलेन्सलाइ संस्थामा ल्याउनको लागि संस्थापक अध्यक्ष मेयर ज्ञानेन्द्र सुवेदीले आबश्यक परे आफूले सहजीकरण गर्ने बताए ।’

एम्बुलेन्स बेच्ने मध्येका एक राजकुमार राईले आफूले जानीजानी नबेचेको तर लेख्दा अन्जानमा गल्ती भएको स्वीकार गरे । लिम्बुले संस्थाको सम्पति बेच्न पाईँदैन भन्ने थाहा नभएर बेचिएको भन्ने कागज हुन गएकोले त्यसमा गल्ती भएको बताए ।

‘लायन्सको २२ जनाको सेयर सदस्य रहेको थियो, त्यसमा योगेन्द्र सुबेदी र ज्ञानेन्द्र सुबेदी समेत थिए अग्रज दाईहरुले एम्बुलेन्स घाटामा गयो बेचौँ भनेपछि बेचिएको हो, लिम्बुले भने, सबैले पैसा उठाएर किनिएको थियो, ड्राइभरले पैसा खाईदिन थाल्यो, पार्टपुर्जा बिग्रन थाल्यो थालेपछि सबैले बेच्ने भनेपछि मैले सही गरेको हुँ ।’

प्रतिक्रिया