कार्यकर्तालाई रमाइलो : बन्द पनि, भोज पनि

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार आमहड्ताल (नेपाल बन्द) आह्वान गरेको छ । बन्दको प्रभाव खासगरी संघीय राजधानी काठमाडौंमा धेरै देखिएको छ ।

काठमाडौंको पुल्चोक, कोटेश्वर, चाबहिल, माइतीघर मण्डलालगायतका स्थानमा दाहाल–नेपाल समूहका कार्यकर्ताहरु तैनाथ देखिन्छन् । उनीहरु आफ्नो पार्टीले घोषणा गरेको बन्दलाई सफल पार्न लागिपरेका छन् । बिहानैदेखि सडकमा तैनाथी नेता/कार्यकर्ताहरुको लागि सडकमै खाना बन्दैछ ।

सडकमै खाना
दाहाल–नेपाल समूहले नेता/कार्यकर्ताहरुका लागि भनेर सडकमै खाना बनाइरहेको छ । बिहानैदेखि साँझ ५ बजेसम्मको लागि बन्द आह्वान गरेको यो समूहले आफ्नो नेता/कार्यकर्ताको लागि भनेर सडकमै खाना बनाएको हो ।

सबैले होटलमा खान असम्भव भएकोले सडकमै खाना बनाउनुपरेको कोटेश्वरमा खाना बनाइरहेका एक कार्यकर्ताले बताए । उनले भनेका छन्, ‘हामी ठूलो संख्यामा यहाँ उपस्थित छौँ । सबैले होटलमा खान असम्भवजस्तै देख्यौँ । त्यसैले यहीँ (सडक)मै खाना बनाउनुपरेको हो ।’

नागरिकलाई सास्ती
दाहाल–नेपाल नेतृत्वलाई बन्द रमाइलो लागिरहे पनि आमनागरिकलाई भने सास्ती भएको छ । आफ्नो पार्टीले घोषणा गरेको बन्दलाई सफल बनाउने नाममा कार्यकर्ताहरु तोडफोडमा उत्रिनु पनि पछि परेका छैनन् । केही छिटफुट रुपमा यस्तो घटना पनि घटिरहेका छन् ।

अहिले प्रहरीभन्दा पनि कार्यकर्ताहरु सडकमा चनाखो देखिन्छन् । यतिसम्म कि, कार्यकर्ताहरुले प्रहरी बललाई नै पालो दिएका छन् । सडकमा चलेका सवारी साधनका धनीसँग सोधपुछदेखि लिएर कारबाही गर्ने कामसम्म पनि कार्यकर्ता आफैँले गरिररहेका छन् ।

कोटेश्वरमा भेटिएकी दिना राईले प्रहरीले भन्दा पनि कार्यकर्ताहरुले नै बढी दुःख दिएको बताइन् । ‘बन्दले नागरिकहरुलाई सास्ती दियो’, राईले मकालु खबरसँग भनिन्, ‘प्रहरीभन्दा बढी कार्यकर्ताहरु नै बढी एग्रेसिभ् देखिन्छन् । मान्छे कुट्न र सवारी जलाउनम्म पछि नपर्ने रहेछन् ।’

हाम्रो बन्द शान्तिपूर्ण
यता नेताहरुले भने आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको दाबी गरेका छन् । देशका विभिन्न ठाउँमा भएको आगजानीको बारेमा सोध्दा दाहाल–नेपाल नेतृत्वकी नेतृ अष्टलक्ष्मी शाक्यले उक्त घटनाहरु आफ्नो पार्टीले नगरेको दाबी गरिन् । ‘हाम्रो बन्द शान्तिपूर्ण नै भइरहेको रिपोर्टिङ्गहरु भइरहेका छन्’, नेतृ शाक्यले मकालु खबरसँग भनिन्, ‘जति पनि घटनाहरु छन्, त्यो हाम्रो पार्टीले गरेको होइन । बरु केपी ओलीका मान्छेहरुले गर्न सक्छन् । दोष हामीलाई दिनको लागि ओलीले भएभरको शक्ति परिचालन गरेका छन् ।’

प्रतिक्रिया