नेकपा नेता पुरीसहित ६ जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा

  • धनबल राई

काठमाडौं । नेकपा नेता रेवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ ।

दमक–१३ मा सरकारी जग्गा हडपेर अकुत सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा पुरीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

अदालतका प्रवक्ता पुष्पराज पाण्डले मकालु खबरलाई दिएको जानकारीअनुसार मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ । ‘उहाँ (गगन) विरुद्ध आजै मुद्दा दर्ता भएको छ’, प्रवक्ता पाण्डेले भनेका छन्, ‘१४५ पन्नामा अकुत सम्पत्ति आर्जन गरेको भन्ने निष्कर्ष निकालिएको छ ।’
सरकारी जग्गा हडपेर पुरीले १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष विभागले निकालेको छ । त्यस्तै, आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२.२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा पुरीले राजनीतिक पृष्ठभूमिको फाइदा उठाउँदै सरकारी कागजात कीर्ते गरेर दमकस्थित बालुवाटारको २४ बिगाहा जग्गा हत्याएको पाइएको थियो ।

पुरी नेकपाका प्रदेश नंं १ कमिटी सदस्य हुन् । उनी नेकपाभित्र पनि दाहाल–नेपाल नेतृत्वमा रहेको स्थानीय नेताहरुले बताएका छन् । पुरी जारी सम्पत्ति शुद्धीकरण अनुसन्धान शिलशिलामा विभागको हिरासतमा ३९ दिन बसेका थिए ।

प्रतिक्रिया