विस्टन चर्चिलले बनाएको पेन्टिङ बेच्दै एन्जेलिना जोली

एजेन्सी । हलिउड अभिनेत्री एन्जेलिना जोलीले एउटा विशेष पेन्टिङ बेच्ने भएकी छन् । उक्त पेन्टिङ पूर्व बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले बनाएका हुन् ।

चर्चिलले दोस्रो विश्वयुद्धताका बनाएको यो एक मात्र पेन्टिङ भएको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार यो पेन्टिङ लिलामीमार्फत् ३४ लाख अमेरिकी डलरसम्ममा बिक्ने अनुमान छ । ‘टावर अफ द कुटुबिया मस्क’ नाम दिइएको यो पेन्टिङ चर्चिलले मोरोक्कोमा सन् १९४३, जनवरीमा कासाब्लांका कन्फरेन्समा सहभागी भएपछि बनाएका थिए ।

कन्फरेन्समा चर्चिल र तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांक्लिन रूजबेल्टले नाजी जर्मनीलाई हराउने रणनीतिहरूबारे छलफल गरेका थिए । चर्चिलले यो पेन्टिङ बनाएर रूजबेल्टलाई दिएका थिए । विस्तारै यो अभिनेत्री जोलीको संकलनसम्म आइपुगेको थियो । अब भने जोलीले यसलाई बेच्ने भएकी हुन् जसको सुरूआती मूल्य नै बीस लाखदेखि ३४ लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

‘चर्चिलले दोस्रो विश्वयुद्धताका बनाएको यो एक मात्र पेन्टिङ हो । सायद यो पेन्टिङ बनाउँदा उनी त्यो बेलाको समयबाट प्रभावित थिए,’ क्रिस्टिज लिलामी घरका मोर्डन ब्रिटिश आर्ट प्रमुख निक अर्कार्डका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ ।
दोस्रो विश्वयुद्ध सन् १९३९ देखि १९४५ सम्म चलेको थियो । ‘त्यसैले पनि यो चर्चिलको अहिलेसम्मकै उत्कृष्ट पेन्टिङ मानिन्छ,’ अर्कार्डले भनेका छन्, ‘यसले दुई नेताहरूबीचको मित्रतालाई प्राथमिकता दिएको छ ।’

प्रतिक्रिया