शहरी फोहोर प्रशोधन गर्दै धरान

धरान । धरान उपमहानगरपालिकाले आउँदो फागुन १५ गतेबाट फोहोरलाई प्रारम्भिक प्रशोधन गर्ने भएको छ । देशका विभिन्न शहरहरुले फोहोर व्यवस्थापनमा विशेष ध्यान दिएका बेला धरानले पनि फोहोर प्रशोधन गर्ने निर्णय गरेको हो ।

धरान उपमहानगरका प्रमुख तिलक राई, प्रशासाशकीय अधिकृत तथा प्रशासन प्रमुख विदुर खनाल, वातावरण शाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरिक्षक राजु चौहान, भेन्चर वेस्टु इनर्जी प्रालिका निर्देशक विपुल राज पाण्डे र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र प्रदेश एकका ईञ्जिनियर सुजन पौडेल सहितको मंगलबार बसेको संयूक्त छलफलले यस्तो निर्णय गरेको हो ।

शहरी फोहोरलाई आउँदो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गर्ने निति धरान उपमहानगपालिकाले तयार गरी सो निर्णय गरेको मेयरका प्रेस सल्लाहकर पारस राईले जानकारी दिए । कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने मेशिन (सेक्रिगेटर) एक हप्ताभित्रमा भारतबाट ल्याइने छ ।उक्त सेक्रिगेटर मेशिन आएपछि फोहोरलाई प्रारम्भिक प्रशोधन गरि धरानको अव्यवस्थित फोहोर प्रयोग गरी उर्जा उत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको र निर्माणपछि फोहोरलाई प्रशोधन गरिने मेयर तिलक राईले बताए । २०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु ईनर्जि प्रालिबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

सोहीअनुसार धरान ६ स्थित पानवारीमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको निर्माण गर्ने निर्णयसंगै केन्द्रको कार्य अन्तिम चरणमा पुगेको छ । फोहोरलाई मोहरको रुपमा परिणत गर्न तथा सफा, स्वच्छ र सुन्दर शहर बनाउन सम्झौता अनुसार काम भईरहेको हो ।

अहिले फिडिङको काम भइरहेको छ भने सिभिल संरचनाको कार्य पूर्ण रुपमा सम्पन्न भएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु प्रईनर्जि कम्पनीका अनुसार प्रशोधन केन्द्रमा शहरी फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन गर्ने र अर्गानिक मल उत्पादन गरिने धरान उपमहानगरपालिका वातावरण शाखा प्रमुख भेषराज घिमिरेले जानकारी दिए ।

सो परियोजनामा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २० प्रतिशत र विश्व बैंकको २० प्रतिशत अनुदान रहेको छ भने भेन्चर वेस्टु इनर्जी प्रालिको ६० प्रतिशत लगानी रहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया