संविधान बनाउँदा नै प्रतिगमन, अहिले चाहिँ ‘कु’ भयो : महतो

विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि ‘कु’ भएको बताएका छन् । ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई उनले संविधानमाथि ‘कु’ भनेका हुन् ।
जनता समाजवादी पार्टी जिल्ला समन्वय समितिको आयोजनामा विराटनगरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै संविधान बनाउँदा नै प्रतिगमन भएको उनले बताए । स्वार्थ पूरा नहुँदा अहिले आएर त्यही संविधानमाथि पनि ओलीबाट ‘कु’ भएको उनको धारणा छ ।
‘संबिधान बनाउँदा नै देउवा, दाहाल, नेपाल, ओली, खनाल सबै मिलेर प्रतिगमन गरेका थिए,’ उनले भने, ‘अहिले आएर पार्टीभित्र स्वार्थ नमिल्दा ओलीले संबिधान माथि कु गरेका हुन् ।’
संविधान निर्माण गर्दा भएको प्रतिगमनको बारेमा वास्तै नगर्ने अहिले आएर प्रतिनिधि सभा बिघटन हुँदा प्रतिगमन भयो भनेर भन्नु कुनै अर्थ नहुने उनको भनाई छ ।
‘निर्वाचन भए पनि वा प्रतिनिधि सभा पुनःस्थापित भए पनि समस्याको समाधान हुँदैन,’ महतोले भने, ‘जुन दिनसम्म नागरिकको अधिकारी स्थापित हुँदैन, त्यो दिनसम्म समस्या आइरहने छ ।’
अदिवासी, जनजाति, मुस्लिम तथा मधेशी समुदायको अधिकार संविधानले स्पष्ट नपार्दासम्म गणतन्त्रले पनि पूर्णता नपाउने उनको दाबी छ । संघीयता आएको भनिए पनि प्रान्तीय रुपमा झण्डा र डण्डाको मात्र अधिकार दिइएको तर नागरिक तहसम्म अधिकार नपुगेको उनले आरोप लगाए । अधिकार सबै संघीय सरकारमा राख्दा संघीयताको कुनै अर्थ नभएको महतोको भनाइ छ ।
‘नेपालमा ७० वर्षमा ७ संविधान बन्यो,’ उनले भने, ‘भारतमा ७० वर्षसम्म एउटै संविधान छ । नश्लीय चिन्तन बोकेका सीमित व्यक्तिका लागि संविधान बन्यो, जनताको लागि बनेन ।’
जनताले गणतन्त्र ल्याए पनि जनताको शासन हुन नसकेको र प्रतिगमन भइरहेको बताए । ‘नाम मात्रको संघीयता काम छैन, अधिकारसहितको संघियता हामीले चाहेका हौँ,’ महतोे भने ।








